मूलरूपमा लघुवित्त बैङ्कको अवधारणा अपनाएर दूरदराजसम्म वित्तीय पहुँच पुर्याउन सफल मुक्तिनाथ विकास बैङ्कले मर्जर तथा एक्विजिशन नगरी हकप्रद र बोनसमार्फत चुक्तापूँजीको न्यूनतम सीमा पुर्याइसकेको छ । नेपाल राष्ट्र बैङ्कको नयाँ नियमका कारण सो बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरतराज ढकालले हालै सो पद छोडेपछि गत चैत २ गतेको सञ्चालक समितिको बैठकले प्रद्युमन पोखरेललाई नियुक्त गर्यो । बैङ्किङ क्षेत्रमै करीब २७ वर्षको अनुभव सँगालिसकेका उनी डेपुटी सीईओबाट सीईओ भएका हुन् । प्रस्तुत छ, नवनियुक्त सीईओ पोखरेलसँग उनका योजना र यस बैङ्कका विविध पक्षबारे आर्थिक अभियानका ममता थापाले गरेको कुराकानीको सार :
मुक्तिनाथ विकास बैङ्कमा नवनियुक्त प्रमुख सीईओको रूपमा तपाईंका नयाँ योजना छन् कि ?
देशले अहिले स्थिर सरकार पाएको छ । विगतका केही दशक स्थिर सरकार थिएन । यो सरकारको आर्थिक एजेण्डा अर्थात् वाम गठबन्धनको घोषणापत्र हेर्ने हो भने केही आशालाग्दा कुरा छन् । उक्त घोषणापत्रमा तीन/चारओटा बुँदाअन्तर्गत हाम्रो देश जलस्रोतमा धनी भएकाले आउँदो १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्छ भनिएको छ । २ हजार किलोमिटरको रेलवे बनाउने तथा नेशनल हाइवेलाई विकास गर्ने, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग बनाउनेलगायत सोच बनाइएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पनि हरेक वर्ष ६ देखि ७ खर्ब रुपैयाँको लगानी विकासका पूर्वाधारमा पर्नुपर्छ भन्नुभएको समाचार आएको छ । यसले नेपालमा अबको बजेट विनियोजन र खर्च द्रुतगतिमा बढ्छ जस्तो देखाउँछ । यस्तो सकारात्मक वातावरणको अवस्थामा मुक्तिनाथ विकास बैङ्कमा पनि नयाँ योजनाबारे सोच्न सकिन्छ ।
यसअघि डेपुटी प्रमुख कार्यकारी अधिकृत भएर कार्यरत हुनुहुन्थ्यो । यस कारण पनि बैङ्कले हालसम्म गरेको उपलब्धिबारे तपाईं परिचित हुनुहुन्छ । बैङ्कले आफ्नो १२ वर्षे यात्रामा हासिल गरेका मुख्य उपलब्धि केलाई मान्नुहुन्छ ?
यो बैङ्कले चारओटा पृष्ठभूमिमा रहेर उपलब्धि हासिल गरेको विश्लेषण गरेको छु । २०६३ पुस १९ मा स्याङ्जाको पुतलीबजारमा तीनजिल्ले विकास बैङ्कको रूपमा शुरू भएको हो । २०६४ असार मसान्तमा कुल सम्पत्ति रू. १२ करोड थियो । यसपछि २०६९ साउनमा १० जिल्ले भएपछि उक्त असार मसान्तको वित्तीय आँकडामा कुल सम्पत्तिको आकार करीब ३ अर्ब रुपैयाँ र शाखा सङ्ख्या २० थियो । २०७२ जेठ २० गते राष्ट्रियस्तरको भएपछि शाखा सङ्ख्या ३० र कुल सम्पत्ति ९ अर्ब रुपैयाँ थियो । चालू आवको पुस मसान्तमा शाखा सङ्ख्या ७४ र सम्पत्ति करीब २६ अर्ब रुपैयाँको छ । यसरी हामीले मोटामोटी ३ सय प्रतिशतको वृद्धि गरेका छौं ।
हामी आर्थिक विकासका लागि नवीन वित्तीय मोडल परिचित गराउने विकास बैङ्क हौं । हामीले पायोनीयरिङ वित्तीय सेवा प्रदान गर्दै आएका छौं । यो बैङ्क क, ख, र ग वर्गका वित्तीय संस्थामध्ये लघुवित्तको अवधारणालाई मुख्य रूपमा केन्द्रित गर्दै लिएर अघि बढेको संस्था हो । वित्तीय पहुँच कम भएको ठाउँमा पनि शाखा विस्तार गर्दै सेवा दिइरहेका छौं । आजसम्म हाम्रा ५० प्रतिशतभन्दा बढी शाखा दुर्गम ठाउँमा छन् । तीनजिल्ले हुँदा पनि साविकका हरेक गाविसमा उपस्थिति थियोे । साधारण व्यक्तिको जीवनमा आर्थिक परिवर्तन ल्याउन हामीले निकै मेहनत गरेका छौं जस्तो लाग्छ । हामी प्रतिक्रियात्मकभन्दा पनि सक्रियतात्मक (प्रोयाक्टिभ) भएर काम गर्छौं । हाम्रा नारा पनि चुनौतीपूर्ण छन् । स्थापनाकालदेखि नै व्यवस्थापन समूह तथा यसअघिका सीईओ भरतराज ढकालज्यूले ‘जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानुपर्छ,’ भन्ने सिद्धान्त र नारा ल्याउनुभयो । यस्तै, ‘एक व्यक्ति : एक खाता, एक परिवार : सफल उद्यमी’, ‘देश विकासको आधार : कृषिमा व्यावसायिक सुधार’ शुरूदेखिकै नारा हुन् । ‘हरेक विद्यार्थीमा वित्तीय साक्षरता, आजको आवश्यकता’ नारासहित वित्तीय साक्षरता अभियान चलायौं । रेमिट्यान्स औपचारिक माध्यमबाट आउनुप¥यो र उत्पादनशील क्षेत्रमा लगानी हुनुप¥यो भन्ने बहस हिजोआज सबैले गर्छन् । तर, हाम्रो बैङ्कमा त्यो बेलादेखि नै ‘विदेशको कमाइ हातमा होइन, खातामा’ नारा थियो । साथै, उक्त रकम उत्पादनमूलक क्षेत्रमा लगाइनुपर्छ भन्थ्यौं । यो अरू कसैले भनेर होइन, मुक्तिनाथ आफैले गर्दै आएको छ ।
चुक्तापूँजी र वासलातको आकार कस्तो छ ?
आफैले साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन सफल भएको बैङ्क हो यो । राष्ट्र बैङ्कमार्फत चुक्तापूँजीसम्बन्धी निर्देशन आएपछि विकास बैङ्कमध्ये आफैले चुक्तापूँजी पुर्याउने यो पहिलो बैङ्क हो । २० प्रतिशत बोनस शेयर निष्कासन गरेपछि अहिले नेप्सेमा सूचीकृत भइसकेको छ । गत साता मात्र सूचीकृत भएपछि यो बैङ्कको चुक्तापूँजी तोकिएकोभन्दा ९ करोड बढी छ । अझ रिजर्भ हेर्ने हो भने कोर क्यापिटल ३ अर्बको हाराहारीमा पुग्छ । गएको १ वर्षमा हाम्रो ब्यालेन्स सीटको आकार ४८ प्रतिशत वृद्धि भएको छ ।
यो बैङ्कले अन्यले भन्दा फरक तरीका र मोडलअनुसार काम गरिरहेको छ । केही व्याख्या गरिदिनुहोस् न ?
अहिलेसम्म हामीले तीन किसिमको मोडलमा काम गरिरहेका छौं । ती हुन्– मोडर्न बैङ्किङ, माइक्रोफाइनान्स र रुरल बैङ्किङ । देश आर्थिक विकासको मार्गमा द्रुतगतिमा अगाडि बढिरहेको अवस्थामा हामीले हाम्रो आर्थिक वृद्धि र विकासलाई पनि त्यहीअनुरूप अगाडि बढाउनुपर्छ । हामीले काम गर्यौं भने नेपाल राष्ट्र बैङ्कले पनि विश्वास गर्छ । र, तपाईंहरू विकास बैङ्क भएर राम्रो काम गरिरहनुभएको छ, अब तपाईंहरू कमर्शियल बैङ्कका लागि पनि योग्य हुनुहुन्छ भनेर भन्न सक्छ । यसका लागि हामीले पूँजी बढाउँदै काम पनि त्यहीअनुसार देखाउनुपर्छ । कमर्शियल बैङ्कलाई चाहिने रू. ८ अर्ब हो । हाम्रो अहिले रू. २ अर्ब ५९ करोड पूँजी छ । यतिले मात्र नपुग्ने भएकाले पूँजी बढाउनुपर्छ । ५ वर्षमा बिजनेशसँगै पूँजी पनि बढाउँदै जाने लक्ष्य छ । सो लक्ष्य प्राप्तिका लागि काम गर्ने तरीका पनि नयाँ ढङ्गले अघि बढाउँछौं ।
हामीले कस्तो क्षेत्रमा लगानी गर्ने, स्रोत परिचालन कसरी गर्ने भन्नेबारे रणनीति बनाउनुपर्छ । स्रोतका लागि व्यक्तिगत ग्राहकमाथि केन्द्रित हुँदै हामी व्यक्तिगत निक्षेपमा बढी जोड दिन्छौं । त्यसका लागि बैङ्कका शाखा सञ्जाल पनि विस्तार गर्नुपर्छ । देश सङ्घीयताको मोडलमा गएको हुनाले अब सातओटै प्रदेशमा काम गर्नुपर्ने अवस्था आएको छ । त्यहाँ गएर साधारण काम गरेर हुँदैन । हामी स्थानीय तह र ग्राहकलाई लाभ हुनेगरी काम गर्न चाहन्छौं । त्यसका लागि जहाँ वित्तीय सम्भाव्यता छ तर, वित्तीय पहुँच कम छ, त्यस्ता ठाउँमा व्यवसाय विस्तार गर्छाैं ।
साथै, हाम्रा तीनओटा मोडल पनि परिमार्जन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नु आवश्यक छ । अहिलेसम्म लघुवित्तमा समूहगत रूपमा लगानी गरेका छौं । भविष्यमा उक्त समूहलाई सहकारीको रूपमा विस्तार गर्ने योजना छ ।
लघुवित्त समूहहरूलाई कृषि सहकारी संस्थामा रूपान्तरण गर्ने योजना कुन चरणमा पुगेको छ ?
हामीले ११ वर्षदेखि यो काम गर्दै आएका छौं । अब मोडललाई नयाँ ढाँचाले परिमार्जन गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ । मोडल परिमार्जन सीधै गरेर पनि हुँदैन । विस्तृत रूपमा अध्ययन गर्नुपर्छ । हामी यसको प्रक्रियामा छौं र केही ठाउँमा पाइलट टेष्टिङ पनि गरिसकेका छौं । तर, सहकारी दर्ता गरेर काम नै शुरू गरेको अवस्था छैन ।
हाम्रो ट्रान्सफर्मेशन मोडल छ । त्यसमा प्रविधिको पनि सहायता लिन्छौं । त्यसलाई पनि अगाडि बढाएर लैजान्छौं । प्रतिस्पर्धी हुनुप¥यो । बजारमा हामी मात्र छैनौं, अन्य बैङ्क तथा वित्तीय संस्था पनि छन् । यसका लागि प्रभावकारिता, दक्ष जनशक्ति, प्रक्रिया, प्रविधिलगायतमा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
उत्पादित वस्तु बजारसम्म पुर्याउन छुट्टै ठूलो कम्पनी स्थापना गर्ने भनिएको थियो । यसबारे के भइरहेको छ ?
यो उत्कृष्ट अवधारणा हो । किसानले उत्पादन गरेको सामान बजारमा प्रत्यक्ष अथवा खुद्रारूपमा विक्री हुन्छ । मुक्तिनाथ विकास बैङ्कले किसानलाई सहकारीमार्फत अथवा सीधै वित्तीय सहायता (फाइनान्स) गर्छ । अब हाम्रो बैङ्क पनि संस्थापक भएका कम्पनीहरूले किसानका उत्पादन उनीहरूसँग खरीद गरेर बजारमा वितरण गर्ने सोचाइ हो । यसो भएमा किसानलाई बजारको समस्या हुँदैन र उनीहरूको उत्पादनले उचित मूल्य पाउँछ । साथै, ग्राहकले पनि सुपथ मूल्यमा किनमेल गर्न पाउँछन् । हामी त्यो अवधारणामा काम गर्ने तयारीमा छौं ।
नेपाल राष्ट्र बैङ्कले प्राथमिकता क्षेत्रमा अनिवार्य कर्जा प्रवाह गर्न न्यूनतम सीमा तोकिदिएको छ । यो बैङ्कको स्थिति के छ ?
विपन्न वर्गमा ५ प्रतिशत लगानी गर्छौं । कुल लगानीको ३० प्रतिशत ग्रामीण क्षेत्रमा छ । बैङ्कमा १ सय रुपैयाँ कसैले खातामा राख्यो भने त्यसबाट हामी ८० रुपैयाँ लगानी गर्न सक्छौं । त्यो ८० मा ३० रुपैयाँ ग्रामीण क्षेत्रमा लगानी हुने गरेको छ । साधारण मानिसको जीवनस्तर सुधार्न यसबाट ठूलो टेवा पुगेको छ । विपन्न वर्ग क्षेत्रमा राष्ट्र बैङ्कको नियम आफ्नो ठाउँमा छ । तर, हाम्रो ३० प्रतिशत एक्पोजर नै लघुवित्तमा छ । उत्पादनशील क्षेत्रमा हामी राष्ट्र बैङ्कले तोकेकोभन्दा बढी सक्रिय छौं । यसैगरी पर्यटन र जलविद्युत्मा पनि लगानी गरेका छौं । जहाँ जहाँ देशको आवश्यकता छ, त्यहाँ लगानी गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।
बैङ्कको दोस्रो त्रैमाससम्ममा निक्षेप ५२ प्रतिशत र कर्जा प्रवाह ४७ प्रतिशत बढेको छ । वाणिज्य बैङ्कहरूमा भने लगानीयोग्य रकम अभाव छ र कर्जा प्रवाह मागअनुसार गर्न नसकेको गुनासो छ । तपाईंहरू कसरी निक्षेपमा आकर्षण गरेर सीसीडीको अनुपातअनुसार कर्जा प्रवाह गरिरहन सक्नुभएको छ त ?
कमर्शियल बैङ्कमा ठूला निक्षेपकर्ताको मात्रा बढी हुन्छ, जुन विकास बैङ्कमा कम हुन्छ । हामीमा तरलता सङ्कुचनको अवस्था छैन । विकास बैङ्कमा ठूला निक्षेपकर्ता धेरै कम हुन्छन् । मुक्तिनाथका शाखा दुर्गम ठाउँहरूमा धेरै छन् । त्यहाँको स्थानीय अर्थतन्त्रले हामीलाई निक्षेपमा खासै समस्या आउन दिएको छैन, जसले गर्दा यो बैङ्कले लगानीयोग्य रकमकोे समस्या सामना गर्नुपरेको छैन ।
बैङ्कले वित्तीय साक्षरता अभियान कसरी अघि बढाइरहेको छ ?
हामीले २ वर्ष पहिलेदेखि वित्तीय जागरणमा धेरै काम गरेका छौं । स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरेका छौं । वित्तीय साक्षरताका कार्यक्रमबाट ३५ हजार व्यक्ति लाभान्वित भएका छन् । हामी गीत, सडक नाटक, पोष्टर–पम्पलेट, रेडियो कार्यक्रमको माध्यमबाट विद्यालयहरूमा वित्तीय साक्षरता बढाइरहेका छौं ।
युवाको सहभागी बढाउन उनीहरूलाई पनि केन्द्रित गरेका छौं । शीपमूलक तालीम दिएका छौं । खेती, उद्योगधन्दा, घरेलु उद्योग कसरी गर्ने भन्ने विषयमा तालीम कार्यक्रम गरेका छौं । यस्ता तालीमपश्चात् व्यक्तिगत अथवा समूहगत रूपमा कर्जा पनि प्रदान गर्दै आएका छौं ।
जीर्ण अवस्थामा रहेका पाटीपौवा, मन्दिरलगायत सम्पदाको मर्मतसम्भार, वृद्धाश्रममा भएकाहरूलाई ह्वीलचियर सहयोगको काम पनि गरिरहेका छौं । निःशुल्क स्वास्थ्य शिविर र बाग्मती सफाइ अभियानमा सहभागी भएका छौं । जहाँ जहाँ शाखा छ, त्यहाँको आवश्यकताअनुसार सामाजिक दृष्टिकोणबाट सहयोग गरेका छौं ।
राष्ट्र बैङ्कले बैङ्कहरूको जोखीम व्यवस्थापनसम्बन्धी विश्लेषण गर्दै आएको छ । तपाईंहरूले आफ्नो जोखीम व्यवस्थापन कसरी गर्दै आउनुभएको छ ?
यो धेरै महत्त्वपूर्ण विषय हो । जोखीम हामीले लिनै हुँदैन भन्ने होइन । बैङ्कले पाउने जुन नाफा छ, त्यो सफल जोखीम व्यवस्थापनको नाफा हो । हामीले जोखीम त लिनुपर्छ । तर, जोखीमको व्यवस्थापन पनि गर्नुपर्छ । जोखीमबाट हुन सक्ने प्रभाव के छ, त्यसको अनुमान गरेर त्यसलाई घटाउन सक्ने पनि हुनुपर्छ ।
बैङ्कमा दुई किसिमको रिक्स हुन्छ, डेलिभरी रिक्स र ब्यालेन्स सीट रिक्स । डेलिभेरी रिक्स भनेका अपरेशन रिक्स, टेक्नोलोजी रिक्स, लिगल रिक्स, ह्याकिङका रिक्स आदि हुन् । ब्यालेन्स सीट रिक्समा मार्केट, लोन दिएर समयमा फिर्ता नहुने, बजारमा तरलता, घटबढको रिक्स र ब्याजको रिक्स पर्छन् ।
अहिले जोखीम व्यवस्थापन भनेर छुट्टै विभाग पनि छ, जसले यसमा मात्र काम गर्छ । यसका लागि फ्रेमवर्क तयार गरेर त्योअनुसार काम गरिरहेका छौं । यो समितिले रिपोर्ट गर्छ ।