चैत २०, वाशिङ्टन डिसी (अमेरिका) । करीब आधा अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएको पाइएको छ । अमेरिकी मतदाताहरूमा हालै गरिएको एक सर्वेक्षणमा यस्तो पाइएको हो । राष्ट्रपतिको कार्यशैलीसम्बन्धी गरिएको रसामुसेन नामक एक अध्ययनको प्रतिवेदनमा यस्तो तथ्याङक आएको छ । प्रतिवेदनअनुसार ट्रम्पको कार्यशैली मनपराउने नागरिक ४९ प्रतिशत छन् । तीमध्ये पनि ३३ प्रतिशतले त राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई पूर्ण रूपमा समर्थन रहेको बताएका छन् । बाँकी ३९ प्रतिशतले भने उनको कार्यशैलीको कडा रूपमा विरोध गरेका छन् । तिनीहरुलाई उनको कार्यशैली कत्ति पनि मन परेको छैन ।
यस अनुसन्धानमा एक हजार ५०० मतदातालाई ट्रम्पको दैनिक कार्यशैलीबारे सोधिएको थियो । गत हप्ता सिएनएनले गरेको यस्तै अर्काे एक अध्ययनमा भने राष्ट्रपति ट्रम्पको कार्यशैली मन नपराउनेको सङ्ख्या ५४ प्रतिशत थियो । त्यस अध्ययनमा जम्मा ४२ प्रतिशत मतदाताहरूले उनको कार्यशैली मन पराएको बताएका थिए । पछिल्लो अनुसन्धान तीन दिन लगाएर हालै गरिएको हो । यसमा निर्वाचनमा सहभागी मतदाताहरू नै सहभागी गराइएको थियो । अमेरिकी राष्ट्रपतिको कार्यालयबाट पछिल्लो समयमा राष्ट्रपति ट्रम्पका सहयोगी तथा सल्लाहकारहरूको समूह एकपछि अर्काे गर्दै बाहिरिएको छ ।
त्यस्तै केही समय मात्र अघि ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका थिए । यसरी अमेरिकामा पछिल्लो समयमा राष्ट्रपति ट्रम्पको कार्यशैली नै मन नपराएर यस रूपमा कर्मचारीहरूले हवाइट हाउस छोडेका बताइएको थियो ।
यसै समयमा उहाँको लोकप्रियता मापन गर्नका लागि उक्त संस्थाले सो अनुसन्धान गरेको अनुमान गरिएको छ ।
रासस/सिन्हवा