काठमाडौं (अस) । बीमा समितिले अभिकर्ताहरूलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरणका लागि निवेदन दिन अनुरोध गरेको छ । चैत मसान्त पछि इजाजतपत्र नवीकरणको प्रारम्भिक म्याद सकिनेछ । मङ्गलवारदेखि इजाजतपत्र नवीकरणको काम शुरू गरेकोे समितिका सहायक निर्देशक लोकबहादुर अधिकारीले जानकारी दिए ।
बीमा ऐन, २०४९ को दफा ३१ अनुसार अभिकर्ताले इजाजतपत्र नवीकरणका लागि प्रत्येक वर्षको चैत मसान्तभित्र तोकिएको दस्तुरसहित समितिमा निवेदन दिनुपर्ने हुन्छ । इजाजतपत्र नवीकरण गर्न २ सय रुपैयाँ दस्तुर लाग्ने समितिले बताएको छ । यदि तोकिएको म्यादभित्र कुनै अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न नसकेमा कारण खुलाई समितिमा निवेदन दिनुपर्नेछ । समितिले सो कारण मनासिब देखेमा तोकिएबमोजिम थप दस्तुर लिई बढीमा ६ महीनाको म्याद थप गरिदिन सक्नेछ ।
थप म्यादमा वैशाख १ गतेदेखि जेठ मसान्तभित्र इजाजतपत्रको नवीकरण गरेमा थप १ सय रुपैयाँ दस्तुर लाग्नेछ । यदि सो अवधिमा पनि नवीकरण नगरेमा असोज मसान्तभित्र दिनको ५ रुपैयाँको दरले थप दस्तुर तिरेर इजाजतपत्रको नवीकरण गर्न सकिनेछ । फागुन १५ गतेसम्मको तथ्याङ्कअनुसार निर्जीवन र जीवन बीमा गरेर यो वर्ष ३८ हजार ८ सय ३३ जनाले इजाजतपत्र लिएका छन् ।