रुकुम (पश्चिम)को बाँफीकोट गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । स्वास्थ्य बीमा तथा उपचार कार्यक्रमअन्तर्गत गाउँपालिकाले आव २०७४/७५ मा ३ सय गरीब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको हो ।
विपन्न घरधुरी सर्वेक्षण तथा पहिचानको काम भइरहेको बाँफीकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी गराए । १० वडा रहेको गाउँपालिकामा वडैपिच्छेको घरपरिवार सङ्ख्याअनुसार विपन्न परिवार छनोट गरिनेछ । २०६८ सालको जनगणनाअनुसार गाउँपालिकामा ३ हजार ७ सय ४७ घरपरिवार छन् । तीमध्ये ३ सय घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा हुनेछ, जसका लागि चालू आवमा गाउँपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा समितिले गत फागुन २७ गतेदेखि रुकुममा स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको हो । विपन्नलाई गाउँपालिकाको तर्फबाट निःशुल्क स्वास्थ्य बीमा र अन्य परिवारलाई सरकारले राष्ट्रिय रूपमा सामाजिक स्वास्थ्य सुरक्षा समितिमार्फत सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने लक्ष्य राखिएको अध्यक्ष केसीले बताए । सामाजिक स्वास्थ्य सुरक्षा समितिले रुकुम पश्चिमका ७३ जना दर्ता सहयोगीलाई तालीम दिएर स्वास्थ्य बीमाका लागि खटाएको छ ।