ज्योति श्रेष्ठ
बनेपा । लोडशेडिङको अन्त्य भएसँगै बनेपाका व्यापारीहरूको आम्दानीमा वृद्धि भएको छ । दैनिक १८ घण्टा हुने लोडशेडिङकै कारण लामो समयदेखि उनीहरूको व्यवसाय घाटामा थियो । अहिले लोडशेडिङ नहुँदा काष्ठ उद्योग, खाद्यान्न उद्योग, प्रिटिङ प्रेस, अटो वर्कशपजस्ता व्यवसायीको काम पहिलेको तुलनामा धेरै नै सहज भएको छ ।
लोडशेडिङको समयमा मासिक ४० देखि ५० हजार आम्दानी गर्ने बनेपा–१० का मामाभाञ्जा अटो वर्कशपका सञ्चालक अनील श्रेष्ठले अहिले मासिक ६० देखि ७० हजार रुपैयाँ आम्दानी गर्ने गर्छन् । लोडशेडिङ हट्दा काममा सहज हुनुका साथै आम्दानी पनि बढेको श्रेष्ठ बताउँछन् । उनले भने, ‘पहिला लोडशेडिङ समयमा जेनेरेटरबाट काम गर्नुपर्दा बढी खर्च हुन्थ्यो । बत्तीलाई कुरेर काम गर्नुपर्ने बाध्यताले रातको २ बजेसम्म सुत्न पाउँदैनथ्यौं ।’
लोडशेडिङका कारण दैनिक ३ देखि ४ हजार रुपैयाँ डिजेलमा खर्च गर्नेुपर्ने बाध्यताबाट मुक्त भएको अनील सुनील स–मिल एण्ड फर्निचर उद्योगका कृष्ण गोपाल मानन्धर बताउँछन् । अहिले व्यवसाय सञ्चालनमा सहज हुनुको साथै धेरैलाई रोजगार पनि दिन सकेको मानन्धरले जानकारी दिए । उनले भने, ‘लोडशेडिङ हुँदा काम र कमाइ दुवै हुँदैनथ्यो । तर, अहिले बत्ती २४ घण्टा आउँदा माग अनुसारको काम गर्न सकेका छौं । लोडशेडिङ नभएकै कारण अहिले उद्योगबाट दैनिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी गर्न सकेका छौं ।’
खाद्यान्न उद्योगमा फुर्सदिला देखिने कामदारहरूलाई यतिबेला कामको चाप बढेको छ । लोडशेडिङ नभएपछि उद्योगमा प्रशोधनका काम बढी हुन थालेको ओम्शक्ति खाद्य उद्योग बनेपाका राजेन्द्र राजवंशीले बताए ।