मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग मङ्गलवार ‘ब्रेक थ्रू’ भएपछि उपत्यकावासीले सो आयोजनाको पानी खान पाउने लगभग पक्का भएको छ । ढिलासुस्तीको पर्यायजस्तै बनेको मेलम्ची अब भने साकार हुने देखिएको छ । मुहानस्थल हेलम्बु अम्बाथानदेखि सुन्दरीजल जोड्ने साढे २७ किलोमिटर सुरुङमार्ग एकआपसमा जोडिएपछि आयोजना पूरा नहुने आशङ्का मेटिएको छ ।
पानीको अभावले ‘काकाकुल’ भइरहेका काठमाडौँ वासीलाई मेलम्ची सुरुङमार्गको ब्रेक थ्रूले आशा गर्ने ठाउँ दिएको छ । मेलम्ची खानेपानी वितरण विकास बोर्डका उपकार्यकारी निर्देशक भोजविक्रम थापाका अनुसार प्राविधिक रूपले मेलम्ची सुरुङ सुन्दरीजलमा जोडिएको छ । उनले आगामी साउनमा मेलम्ची खोलाको पानी सुन्दरीजलमा बग्ने जानकारी दिए ।
सुरुङको मङ्गलवार नै अन्तिम ब्रेक थ्रू भए पनि बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची पुगेर त्यसको औपचारिक घोषणा गर्ने बताइएको छ । सुरुङका तीन खण्डमध्ये दुई खण्ड यसअघि नै ब्रेक थ्रू भइसकेका थिए । यसअघि ब्रेक थ्रू भएका खण्डमा ढलान र फिनिसिङको काम भइरहेको मेलम्ची खानेपानी आयोजनाले बताएको छ । आयोजनाका अनुसार अम्बाथानबाट ग्याल्थुमतिर र सिन्धुबाट सुन्दरीजलतिर साढे ३ किमी सुरुङ ढलान र फाइलन फिनिसिङ भइसकेको छ ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २५ वर्षअघि ‘मेलम्चीको पानीले काठमाडौंका सडक धुने’ भनी दिएको अभिव्यक्तिले मूर्त रूप लिन भने अझै ६ महीना कुर्नुपर्ने भएको छ । सुरुङ जोडिए तापनि फिनिसिङ र ढलानको काम बाँकी रहेकाले आगामी दशैंमा मात्र काठमाडौंवासीले मेलम्चीको पानी खान पाउने सम्भावना छ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्याका आपूर्ति गर्ने उद्देश्यले सन् २००१ मा आयोजनाको काम थालिएको थियो । सन् २००७ मा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना १८ वर्षमा पूरा हुन लागेको हो ।
४ वर्षमा सक्ने भनिएको सुरुङको काममै ७ वर्ष लागेको छ मुहानस्थल अम्बाथानमा स्थायी च्यानल बनाउन समय लाग्ने भएकाले तत्काललाई अस्थायी प्रकृतिको ‘कफर्ड ड्याम’ बनाएर पानी सुरुङमा प्रवेश गराउने तयारी आयोजनाको छ । अब सुरुङ सफा गर्ने, पानी प्रशोधन गर्ने र पाइप बिच्छ्याउने काम तीव्र बनाएर ढिलोमा दशैंसम्ममा काठमाडौंमा मेलम्चीको पानी ल्याइने आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए ।