धरान (अस) । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निर्माणाधीन मातृशिशु स्याहार केन्द्र (एमसीएच)को भवनका लागि सरकारले विनियोजन गरेको ३० करोड रुपैयाँ फ्रिज हुने भएको छ । भवन निर्माण ठप्प भएकाले बजेट खर्च गर्न नसक्दा फ्रिज हुने अवस्था आएको हो ।
आर्थिक वर्ष २०७४/७५ का लागि विनियोजन भएको रकम जेठ पहिलो सातासम्ममा खर्च गरिसक्नु पर्ने हुन्छ । तर, आर्थिक वर्षको खर्च सकिने समय २ महीना मात्रै बाँकी रहेको छ । भवनका लागि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयमार्फत पहिलो र दोस्रो चरणमा ६० करोड रुपैयाँले निर्माण अघि बढेको थियो । तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहोरा र उपकुलपति राजकुमार रौनियारबीच विवाद बढ्दै गएपछि तेस्रो चरणमा आएको उक्त रकम फ्रिज हुने भएको हो । इष्टिमेट गरेअनुसारको लागतमा वृद्धि भएपछि बोहोराले छानबिन नभएसम्म रोक्न निर्देशन दिएको प्रतिष्ठानका प्रवक्ता पशुपति चौधरीले बताए ।
अत्यन्तै विवादित बनेको ४ सय बेड क्षमताको मातृशिशु भवन अघिल्लो उपकुलपति डा. बलभद्रप्रसाद (बीपी) दासले आफ्नो कार्यकाल सकिन लाग्दा ठेक्का लगाएका थिए । रू. ७८ करोडमा तयार गर्ने भनिएको भवन निर्माणमा २ अर्ब १८ करोड लागत अनुमान देखिएपछि विवादित बनेको थियो । पूर्व उपकुलपति दासका अनुसार २ सय शøयासहित २ तले भवन निर्माण गर्ने पहिलो चरणको अनुमानित लागत रहेको थियो । पछि विभागसँग छलफल गर्दा ४ सय शøयासहित ३ तला स्वास्थ्य उपचारका लागि र थप तला प्रशासनिक कार्यका लागि निर्माण गर्नुपर्ने सुझाव आएपछि इष्टिमेट लागत बढेको हो । उनले भने, ‘मन्त्रिपरिषद्बाट अनुमोदन गर्ने गरी ड्रइङ डिजाइन गरेर बुझाइयो । सरकार परिवर्तनसँगै प्रक्रिया पनि ढिलाइ भएको थियो ।’
दासले शर्मा रसुवा जेभी काठमाडौंलाई २ अर्ब १८ करोड रुपैयाँको लागत अनुमान स्वीकृत गरी २ अर्ब १७ करोड ६० लाख रुपैयाँमा ठेक्का स्वीकृत गरेका थिए । कुल ठेक्का रकम २ अर्ब ४९ करोड ६४ लाख ४२ हजार रुपैयाँमध्ये करीब ६८ करोड रकम भुक्तानीसमेत भइसकेको थियो । लागत अनुमानमा वृद्धि भएपछि अख्तियारमा उजुरी परेको थियो । तर, अख्तियार अनुसन्धान आयोगले उजुरी निवेदकको लगतकट्टा गर्ने निर्णय गरिसकेको छ । असार ५ गते आयोगको निर्णय असार १४ गते प्रतिष्ठानलाई पठाएको थियो । तर, वर्तमान उपकुलपति रौनियारले निर्माण कार्य अघि बढाउन पहल नगरेको दासको भनाइ छ ।