मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा शनिवार सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गरे ।
उनले भने, ‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ, हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’
प्रधानमन्त्रीले २०७४ महत्वपूर्ण राजनीतिक उपलब्धिको साल रहेको उल्लेख गर्दै गतवर्षमै राजनीतिक सङ्क्रमणकालको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको बताए । उनले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटामा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको पनि बताए ।
प्रधानमन्त्री ओलीले शनिवार नै रारा–कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन गरेका छन् । सो अवसरमा उनले जीवनमा एकपटक रारा भ्रमण गर्नैपर्ने स्थान भएको बताए । उनले भने, ‘रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अग्र्यानिक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिने छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले रारा र सेफोक्सेण्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताए । रासस