द भेस्पर रेष्टुराँ एण्ड क्याफे, पुल्चोक, ललितपुर :
भेस्परमा स्वादको चमक
भेस्परको अर्थ हो साँझको चम्किलो तारा । जिब्रोमै झुण्डिने स्वादका परिकारले ताराझै चम्काएको छ पुल्चोकस्थित दि भेस्पर क्याफे एण्ड रेष्टुराँलाई । विगत २ वर्षदेखि सञ्चालनमा आएको यो रेष्टुराँले इटालियन र मेक्सिकन स्वादका परिकारमार्फत ग्राहकलाई सन्तुष्टि दिँदै आएको छ । सधैंजसो एउटै परिकार खाएर हैरान भएका ग्राहकका लागि फरक स्वाद पस्कने गरेको द भेस्पर क्याफेका व्यवस्थापक विवेक पौडेलले बताए । ‘समय समयमा मेनु पनि परिवर्तन गरी परिकारमा विविधता ल्याउने गरेको हुँदा यो रेष्टुराँलाई एउटा परिकारले मात्र विशिष्ट पहिचान दिन सक्दैन,’ उनले भने ।
रेष्टुराँको शान्त तथा हराभरा वातावरण मनमोहक छ । शान्त वातावरणमा स्वादिष्ट भोजनमा रमाउन चाहनेका लागि भेस्पर उपयुक्त गन्तव्य हुन सक्छ । रेष्टुराँमा विशेषगरी साँझको समयमा ग्राहकको भीड लाग्ने गरेको छ । इटालियन उड फायर पिज्जा, पास्ता, र अन्य मेक्सिकन परिकार नै भेस्परका ग्राहकको विशेष रोजाइ हो । स्मोक्ड चिकेन पिज्जा, चिली कन कर्न, स्टफ्ड ओलिभ चिकेन, बार्बिक्यू चिकेन, नाचोस रेष्टुराँका विशेष परिकार हुन् । यसमध्ये पनि बार्बिक्यू चिकेनको स्वाद ग्राहकले निकै मन पराएको पौडेल बताउँछन् । भेस्परले तयार गर्ने सम्पूर्ण परिकारका लागि आवश्यक सबै खाद्यसामग्री विदेशबाट आयात गर्ने गरिन्छ । मासुजन्य पदार्थ भने अष्ट्रेलियाबाट आयात गर्ने पौडेल बताउँछन् ।

रेष्टुराँमा इटालीमा बनेको वाइन उपलब्ध छ । अन्य अग्यार्निक खाद्यान्न भने भक्तपुरबाट ल्याउने पौडेलले बताए । रेष्टुराँमा आकर्षक बारको पनि व्यवस्था छ । विदेशी ब्राण्डका पेयपदार्थ रुचाउने ग्राहकलाई ध्यान दिँदै बारमा अन्तरराष्ट्रियस्तरको पेयपदार्थ सजाइएको छ । रेष्टुराँले यसै वर्षदेखि हरेक आइतवार बिहान ९ बजेदेखि ३ बजेसम्मको ब्रञ्च पनि मेनुमा समेट्ने गरेको छ । ब्रञ्च मेनुमा सेमिटिएको परिकार भने ग्राहकको आँखैअगाडि पकाउने व्यवस्था मिलाइएको पौडेलले बताए । अहिले रेष्टुराँको मेनुको मेन कोर्ष डिसेसमा ३५ प्रकारका परिकार समेटिएको छ । यसमा कण्टिनेण्टल, इटालियन र मेक्सिकन स्वादका परिकारलाई मुख्य प्राथमिकता दिइएको छ । यहाँका ग्राहकमध्ये ६० प्रतिशत विदेशी रहेको पौडेलले बताए । रेष्टुराँले उपलब्ध गराएका परिकारहरू पर्यटकमाझ लोकप्रिय भएको उनका भनाइ छ । पर्यटक तथा विभिन्न पेशाकर्मीको जमघट गर्ने थलो पनि बनेको छ द भेस्पर क्याफे ।
यहाँ साना ठूला पार्टी, मिटिङ र कन्फ्रेन्स पनि आयोजना हुने गरेको छ । एकैपटकमा १ सय ८० जनासम्म ग्राहक अटाउन सक्ने रेष्टुराँको क्षमता छ । रेष्टुराँको गेटबाट प्रवेश गर्नासाथ देखिने जोकोहीलाई पनि लोभ्याउँछ । शान्त र शीतल वातावरणमा स्वादिष्ट परिकारका लागि नमूना स्थल हो भेस्पर क्याफे । रेष्टुराँले स्थापनाकालदेखि नै होम डेलिभरी तथा लञ्च बक्सको समेत सेवा दिँदै आएको छ । पार्किङको प्रशस्त सुविधा भएको यो रेष्टुराँ बिहान १० देखि बेलुका १० बजेसम्म खुला रहन्छ ।










