काठमाडौं ग्रिल्ड चिकेन रेष्टुराँ, महाराजगञ्ज, काठमाडौं :
काठमाडौं ग्रिल्डमा टेक अवे
महाराजगञ्जस्थित सेलवेज सुपरमार्केट परिसरमा रहेको काठमाडौं ग्रिल्ड चिकेन रेष्टुराँमा बस्नका लागि एउटा टेबल र एक–दुईओटा कुर्सीमात्र छन् । किनकि, यसको मूल उद्देश्य नै ‘टेक अवे’ सेवा हो । रेष्टुराँमै तयार भएका स्वादिष्ट परिकारले घरमै रमाउन चाहनेहरूमाझ यो रेष्टुराँ प्रख्यात छ । ‘हाम्रो विशेषता भनेकै रेष्टुराँमा बसेर खानेभन्दा पनि घरमै लगेर खाने परिकार तयार पारी बेच्नु हो,’ रेष्टुराँका प्रबन्ध निर्देशक हरिओम श्रेष्ठ भन्छन्, ‘यहाँका परिकार ‘टेक अवे’ का लागि लोकप्रिय छन् ।’ ग्राहकले यो रेष्टुराँमा उपलब्ध परिकारमध्ये चिकेन तथा फिस बढी मन पराउँदै आएका छन् ।
चिकेन र फिसका परिकार विशेष प्रविधिबाट तयार पारिन्छ । कण्टिनेण्टल तथा नेपाली मिश्रणको स्वाद यसमा छ । फ्रान्समा बनेको अत्याधुनिक मेशिनमा राखेर ग्रिल्ड चिकेन र फिस तयार पारिन्छ । र, साथमा नेपाली स्वादको अचार पनि राखिन्छ । २४ घण्टासम्म डीप फ्रिजमा राखिएका ब्रोइलर चिकेनलाई अत्याधुनिक मेशिनमा १ सय ७५ डिग्रीभन्दा बढीको तापक्रममा २ घण्टासम्म ग्रिल्ड गरिन्छ । यस्तो चिकेनमा अधिक चिल्लोपना नहुने हुँदा स्वास्थ्यको दृष्टिले अत्यन्तै उपयोगी हुने श्रेष्ठको भनाइ छ । ‘विशिष्ट मेशिन भएकाले चिकेनमा भएको बोसोसमेत ७० प्रतिशत कम हुन्छ,’ उनले भने ।
अधिक चिसोबाट निकालेर अधिक तातोमा तयार गरिएको चिकेनमा वल्र्ड फ्लूजस्ता सङ्क्रामक रोगको डर नहुने उनको दावी छ । यसरी तयार भएको ग्रिल्ड चिकेनलाई टिमुर तथा अमिलो पिरोको समिश्रण भएको अचारसँग खाँदा निकै स्वादिलो हुने ग्राहकहरू बताउँछन् । रेष्टुराँले सोही प्रविधिबाट तयार पारेको ग्रिल्ड फिस पनि उपलब्ध गराउँदै आएको छ । साथै, यहाँ विभिन्न परिकारका स्याण्डविच पाइन्छ । क्राप, ग्रिल्ड चिकेन, टुना, एग, चिज र भेज स्याण्डविच पनि उपलब्ध छन् । फ्रेञ्चाइजी मोडलमा स्थापना गरिएको यो रष्टुराँले १ महीनाअघि महाराजगञ्जकै भाटभटेनी सुपरमार्केटमा पनि सेवा विस्तार गरिसकेको छ । त्यस्तै, कोटेश्वरको भाटभटेनीमा आगामी महीना अर्को फ्रेञ्चाइजी शुरू गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए । ‘हामी ग्राहकको नजिक पुग्नुपर्छ भन्ने मान्यताअनुसार उपत्यकामा १ दर्जन फ्रेञ्चाइजी पुर्याउने लक्ष्यका साथ अघि बढेका छौं,’ उनले भने ।
बिहान १० बजेदेखि साँझ साढे ८ बजेसम्म खोलिने यो रेष्टुराँ विशेष गरी किनमेल गर्न आउने र हिँड्दाहिँड्दै भोकाएका ग्राहकलाई लक्षित गरी ‘टेक अवे’को अवधारणामा खोलिएको हो । रेष्टुराँमै बसेर खान चाहनेहरूका लागि पनि सामान्य भए पनि कुर्सी र टेबलको व्यवस्था छ । घरमा परिकार बनाउन नभ्याउनेहरूका लागि भने यो रेष्टुराँ उपयुक्त हुन्छ । यसका ग्राहक स्वदेशी तथा विदेशी दुवै बराबर रहेको श्रेष्ठको भनाइ छ । रेष्टुराँले विभिन्न पार्टीका लागि पनि ग्रिल्ड चिकेन वा फिस उपलब्ध गराउँदै आएको छ । साथै, २ किलोमिरसम्मको दूरीमा रहेका कम्पनी तथा कार्यालयमा अर्डरअनुसार डेलिभरीको सुविधा पनि उपलब्ध गराएको छ ।










