दीपकराज ओली
प्रबन्ध निर्देशक, (दीपशिखा धितोपत्र कारोबार कम्पनी)
‘बजार बढाउन होइन, परिपक्व बनाउन पहल गर्नुपर्छ’
बजारले नै नेप्सेको स्थान निर्धारण गर्छ । बजारको धारणा निर्माण सूचनाले गर्छ । त्यसैले, सूचना सही हुनुपर्छ । यसका साथै, बजार व्यावसायिक रूपमा अघि बढ्नुपर्छ । लगानीकर्ताहरूले पाउने सेवा व्यावसायिक हुनुपर्छ । लगानीकर्ताको धारणा जुन सूचनाले निर्माण गर्छ, त्यो सही हो वा गलत भनेर उनीहरूलाई सहजीकरण गर्ने सुविधाहरू उपलब्ध हुनुपर्छ ।
बजार बढ्ने क्रममा देखिए पनि किन गति सुस्त भएको हो ?
बजार बढ्नुपर्छ भन्ने अपेक्षा त सबैमा हुन्छ । बजार यति नै गतिमा बढ्नुपर्छ भन्ने हुँदैन । बजार कस्तो गतिमा बढ्छ भन्दा पनि कसरी बढिरहेको छ, अर्थात् टिकाउ हुने किसिमले छ/छैन, त्यो महत्वपूर्ण हुन्छ । बजार बढाउन होइन, परिपक्व बनाउन पहल गर्नुपर्छ । आमलगानीकर्ता बजारप्रति विश्वस्त छन्/छैनन्, कति विश्वस्त छन् भन्ने कुराले नै बजारको वृद्धि निर्धारण गरेको हुन्छ । बजारमा सञ्चार हुने सूचनाहरूले नै लगानीकर्ताहरूको धारणा बनाएको हुन्छ । लगानीकर्ताहरू जुन सूचनालाई आधार मानेर लगानी गरिरहेका हुन्छन्, त्यस्ता कतिपय सूचनाको विश्वसनीयता नै हुँदैन ।
बजारमा बढी रूपमा अनौपचारिक सूचना नै प्रवाह भइरहेका हुन्छन् र यसैका आधारमा लगानीकर्ताहरू फसिरहेका छन् भनिन्छ नि ?
हो, यस्ता सूचनाले पनि बजारमा लगानीकर्ताहरूलाई भ्रममा पार्ने गरेको छ । यसरी गोप्य सूचना पाएका आधारमा लगानी गर्नुहुँदैन भन्ने हो । तर पनि यस्ता सूचनाहरूको आधिकारिकता पुष्टि गर्न पनि कठिन हुन्छ । साथै, यस्ता सूचना कसरी आए भनेर त्यसमा कानूनी प्रक्रिया अगाडि बढाउन पनि कठिन हुन्छ । अहिलेका नीतिहरूले तोकेका कामकारबाहीहरूसमेत कम्पनीहरूले नगरिरहेको अवस्थामा यसरी अनौपचारिक रूपमा आएका सूचनामा विश्वास गर्नु राम्रो होइन । नेशनल हाइड्रोपावर कम्पनी यस्तै एउटा उदाहरण हो ।
कम्पनीले केही वर्षदेखि साधारणसभा गरेको छैन । तर, यस्तो अवस्थामा पनि केही दिनअघि कम्पनीको शेयरमूल्य एकै दिन धेरैले बढ्ने र घट्ने भयो । सो दिन कम्पनीको शेयरमूल्यमा दुवैतर्फी सर्किट ब्रेकर लाग्यो । सो दिन बजारमा के हल्ला आयो कुन्नि, केही समय शेयर खरीद बढेको थियो र पछि पुनः विक्री चाप यति बढ्यो कि कम्पनीको शेयर खरीद गर्ने लगानीकर्ता नै भेटिएन र शेयरमूल्य घट्यो । त्यसैले बजार दिगो रूपमा बढ्नु राम्रो हुन्छ, चाहे त्यो सुस्त गतिमा नै किन नहोस् ।
अहिले नेप्से परिसूचकको सही स्थान कुन हो त ?
अङ्कका आधारमा यो तहमा हुनुपर्छ वा यतिदेखि यतिमा रहनुपर्छ भन्न सकिँदैन । किनभने, बजारले नै नेप्सेको स्थान निर्धारण गर्छ । बजारको धारणा निर्माण सूचनाले गर्छ । त्यसैले, सूचना सही हुनुपर्छ । यसका साथै, बजार व्यावसायिक रूपमा अघि बढ्नुपर्छ । लगानीकर्ताहरूले पाउने सेवा व्यावसायिक हुनुपर्छ ।
लगानीकर्ताको धारणा जुन सूचनाले निर्माण गर्छ, त्यो सही हो वा गलत भनेर उनीहरूलाई सहजीकरण गर्ने सुविधाहरू उपलब्ध हुनुपर्छ । अन्य मुलुकमा ब्रोकर कम्पनीहरूले यस्तो विषयमा काउन्सिलिङको काम पनि गर्न पाउँछन् । हामीकहाँ भने ब्रोकरहरूले यस्तो सेवा दिन पाउँदैनन् । यस्तो सेवा लगानीकर्ताहरूलाई आवश्यक हुन्छ । त्यसैले, या त शेयर दलालीको परिभाषा फेर्नुपर्छ या शेयर दलालको पेशाको दायरा फराकिलो बनाउनुपर्छ । निक्षेप सङ्ग्रहकर्ताहरू बन्नका लागि ब्रोकरलाई प्राथमिकतामा राखिने भनिए पनि लगानीकर्ताहरूको सहजतालगायत विषयलाई नहेरी कम्पनीको सम्पत्तिमा जोड दिइयो । पूँजीलाई मात्र प्राथमिकतामा राख्नु उपयुक्त हुँदैन । कम्पनीहरूको सञ्चालन प्रक्रिया, लगानीकर्ताहरूलाई पुग्ने फाइदालगायतमा पनि ध्यान दिनुपर्छ ।
बजार आगामी माघ महीनाबाट पूर्ण स्वचालित हुने भनिएको छ । पहिलेजस्तो अहिले पनि यी प्रक्रिया ढिलासुस्ती नहोलान् ?
चाहना र तत्परता हुने हो भने माघबाट हाम्रो कारोबार पूर्ण स्वचालित हुन सक्छ । सबै पक्षले आआफ्नो तर्फबाट काम गर्छन् भने हामीसँग अझै प्रशस्त समय छ । त्यसैले, अहिले बजारमा जसले लगानी गरेका छैनन् उनीहरूले शुरू गर्न सक्छन् । किनभने, अहिले कतिपय राम्रा कम्पनीको शेयरमूल्य पनि अङ्कित मूल्यभन्दा कममै किनबेच भइरहेको छ । यस्ता कम्पनीहरूले समेत ७÷८ प्रतिशत प्रतिफल दिन सक्ने अवस्था छ । त्यसैगरी, बजारका निकै राम्रा कम्पनीहरूले पनि धेरै मूल्य पाउन सकेका छैनन् । त्यस्ता कम्पनीहरू पनि छनोट गर्न सकिन्छ ।