ओम राजभण्डारी
कार्यकारी अध्यक्ष, बृहत इन्भेष्टमेण्ट्स प्रालि
व्यवस्थित शहरीकरणका ‘आर्किटेक्ट’
उपत्यकाको मुख्य बसोवास क्षेत्रभन्दा बाहिर सेटेलाइट टाउन विकास गर्न सके शहरीकरणका सन्दर्भमा त्यो नेपालका लागि उल्लेख्य उपलब्धि हुने राजभण्डारी बताउँछन् । उपत्यकाको मध्यशहरी क्षेत्रमा ‘हाउस पुलिङ’ को अवधारणामा काम गर्न सके पनि काठमाडौंलाई व्यवस्थित गर्न सकिने उनको ठम्याइ छ ।
बृहत इन्भेष्टमेण्ट्सका कार्यकारी अध्यक्ष ओम राजभण्डारी नेपालको व्यावसायिक क्षेत्रमा चिरपरिचित नाम हो । खासगरी शहरीकरण तथा आवास निर्माण क्षेत्रमा उनलाई नचिन्नै कमै छन् । उद्यमीका रुपमा तीन दशकअघि पाइला अघि बढाएका राजभण्डारी नेपालमा सामूदायिक वसोवासको अवधारणामा आवास परियोजना विकास गर्ने ‘पायोनियर’ व्यक्ति हुन् । उनले रियल इस्टेट व्यवसायमा हात हाल्दा नेपालमा व्यावसायिक घरजग्गा कारोबार भर्खरै जन्मने क्रममा थियो ।
घरजग्गाको परम्परागत कारोबार मात्र हुने गरेको त्यस समयमा व्यावसायिक प्रयोजनले आवास विकास गर्ने चलनै थिएन । साञ्चै भन्ने हो भने २०५८ सालमा राजभण्डारीको नेतृत्वमा स्थापित ‘द कम्फर्ट हाउजिङ’ नामको कम्पनीले व्यावसायिकरुपमा छुट्टाछुट्टै आवास परियोजना विकास गर्न थालेपछि मात्र नेपालमा हाउजिङ कम्पनीहरु आउने क्रम बढ्यो । त्यसपछि अन्य व्यवसायीहरुले पनि नेपालमा व्यावसायिक हाउजिङको सम्भावनालाई बुझेकाले एक दशकको छोटो अवधिमै रियल इस्टेट एक छुट्टै उद्योगका रुपमा स्थापित हुन पुग्यो । यसको श्रेय धेरै हदसम्म राजभण्डारीलाई नै जान्छ ।
आवास परियोजनामा नमुना घर MOCK UP को अवधारणा नेपाल भित्र्याउने पनि राजभण्डारी नै हुन् । उनले सबैभन्दा पहिला कम्फर्ट हाउजिङअन्तर्गत काठामाडौंको सितापाइलामा निर्मित पहिलो परियोजना ‘टिसिएच –१’ मा मक–अप तयार गरेका थिए । आजभोलि प्रायः हाउजिङ कम्पनीले घर तथा अपार्टमेण्ट विक्रीका लागि मक–अपलाई सबैभन्दा राम्रो मार्केटिङ संयन्त्रका रुपमा प्रयोग गरेको पाइन्छ ।
रियल इस्टेट क्षेत्रमा प्रवेश गरेदेखि नै राजभण्डारीले व्यवस्थित शहरीकरणका लागि व्यावसायिक हाउजिङको अपरिहार्यतामा जोड दिंदै आएका हुन् । शहर सुन्दर बनाउन पूर्वाधारको आवश्यक संयोजनसहितको योजनाबद्ध हाउजिङ परियोजनाहरु विकास गर्न अत्यावश्यक रहेको उनको मान्यतालाई पछिल्लो समयमा सरकारले समेत प्राथमिकता दिएको छ । यसैको फलस्वरुप देशका विभिन्न स्थानको शहरी पूर्वाधार विकासमा निजीक्षेत्रको सहभागितालाई सरकाले आह्वानसमेत गरिसकेको छ ।
काठमाडौं उपत्यकाको अस्तव्यस्त बसोवासलाई पनि सुदृढ बनाउँदै लैजान सकिने राजभण्डारीको विश्वास छ । यसका लागि विगत केही वर्षअघिदेखि नै उनले ‘मास्टर डेभलपर्स’ अर्थात् ‘सेटेलाइट टाउन’ को अवधारणामा हाउजिङ परियोजना विकास गर्नुपर्नेमा जोड दिंदै आएका छन् । २०६६ बैशाखबाट भने यो अवधारणालाई उनले अझ सशक्तरुपमा अघि सारे । पछिल्लो समयमा यस क्षेत्रका अन्य व्यवसायीहरुले पनि व्यवस्थित शहरीकरणका लागि राजभण्डारीले अघि सारेको यो अवधारणाको आवश्यकता औंल्याउँदै आएका छन् ।
उपत्यकाको मुख्य बसोवास क्षेत्रभन्दा बाहिर सेटेलाइट टाउन विकास गर्न सके शहरीकरणका सन्दर्भमा त्यो नेपालका लागि उल्लेख्य उपलब्धि हुने राजभण्डारी बताउँछन् । यस्तै, उपत्यकाको मध्यशहरी क्षेत्रमा ‘हाउस पुलिङ’ को अवधारणामा काम गर्न सके पनि काठमाडौंलाई व्यवस्थित गर्न सकिने उनको ठम्याइ छ । ‘हाउस पुलिङ’ को अवधारणाअन्तर्गत अव्यवस्थित वासोवास रहेको घना शहरी भागमा स्थित, खाससगरी स्वामित्व छरिएर रहेको, सम्पत्ति (घर–जग्गा) हरुलाई अधिग्रहण गरी त्यहा नयाँ तथा व्यवस्थित बसोवास विकास गर्ने गरिन्छ ।
व्यवस्थित शहरीकरणका यी कुशल योजनाकारले आफूले नेतृत्व सम्हालेका सबै कम्पनीलाई सफलतामा पुर्याएका छन् । रणनीतिक योजना, सेल्स तथा मार्केटिङ, मानव तथा वित्तीय स्रोतको अधिकतम र उत्कृष्ट ढंगमा उपयोग आदिलगायतमा उच्च व्यवस्थापकीय दक्षता उनको व्यावसायिक सफलताको कारक हो । यी दक्षताका अतिरिक्त कम्पनीको सफल नेतृत्वका लागि कुनै पनि काम नैतिकता र उद्यमशीलताको सीमामा रहेर गर्नुपर्ने उनको मान्यता छ ।
आबद्धता
राजभण्डारी निजीक्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यसमित सदस्य तथा शहरी विकास मञ्चका संयोजक पनि हुन् । साथै, घरजग्गा व्यवसायीहरुको छाता संगठन नेपाल जग्गा तथा आवास विकास सङ्घका तृतीय उपाध्यक्ष रहेका राजभण्डारी दी कम्फर्ट हाउजिङ प्रालि तथा कम्फर्ट केयरका समेत अध्यक्ष हुन् । त्यस्तै, उनी रियल इस्टेट तथा निर्माण क्षेत्रमा हाल ख्यातिप्राप्त कम्पनी सीई कन्सट्रक्सन प्रालिका प्रबद्र्धक तथा संस्थापक अध्यक्ष हुन् ।
रियल इस्टेट तथा शहरीकरण विज्ञका रुपमा चिनिने राजभण्डारीलाई केही महीनाअघि नेपाल सरकारले औद्योगिक प्रवद्र्धन बोर्डको सदस्यमा चयन गरेको छ । सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्री, दी इण्टरनेशनल रियल इस्टेट फेडेरेशन, कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्री, नेपाल थाइल्याण्ड फ्रेण्डशिप एसोसिएशन, ह्याबीट्याट फर ह्युम्यानिटी इण्टरनेशनललगायतका अन्तरराष्ट्रिय संघ–संस्थामा पनि उनी आवद्ध छन् ।
यस्तै, सामाजिक उद्यमीका रुपमा समेत सक्रिय राजभण्डारीको संयुक्त पहलमा हस्पिस नेपाल र नेपाल एम्बुलेन्स सेवा नामक सामाजिक संस्था पनि स्थापना भएको छ । यी संस्थाको स्थापनाकालदेखिनै उनले सञ्चालनमा आर्थिक तथा व्यवस्थापकीय सहयोगसमेत उपलब्ध गराउँदै आएका छन् । यीबाहेक विभिन्न आधा दर्जनबढी राष्ट्रिय संघसंस्थाहरुमा उनको आवद्धता छ ।
यीबाहेक थाइलैण्डको थाइ रियल इष्टेट विजनेस स्कूलमा भिजिटिङ स्पिकर तथा काठमाडौंस्थित प्रतिष्ठित व्यवस्थापन क्यामपस एस इन्ष्टीच्युट अफ म्यानेजमेण्ट र एपेक्स कलेजमा रियल इस्टेट म्यानेजमेण्ट फ्याकल्टीको मुख्य प्रशिक्षकका रुपमा पनि राजभण्डारी संलग्न छन् ।