खेमप्रसाद सुवेदी
अध्यक्ष, सुप्रिम डेभलपमेण्ट बैङ्क
‘मर्जरले संस्थालाई बृहत् र शक्तिशाली बनाउँछ’
करीब १० महीनामा बैङ्कको मर्जर प्रक्रिया पूरा भएको छ । यो अवधिको अनुभव बताइदिनुहोस् न ?
दुई वा सोभन्दा बढी संस्था आपसमा गाभिने प्रक्रिया त्यति सजिलो हुँदो रहेनछ । आपसमा गाभिने संस्थाहरूबीच सबै पक्षमा सहमति भएमा मात्र मर्जर सम्भव छ । यो समस्या हामीले पनि भोगेका थियौं । सानातिना विषयमा कुरो नमिलेकै कारण हाम्रो मर्जर प्रक्रिया पनि एकडेढ महीना ढिला भएको थियो । खासगरी मर्जर हुने संस्थाहरूमा कर्मचारी व्यवस्थापन, सञ्चालक समिति तथा विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी तोक्ने विषयमा समस्या देखिने गरेको छ । मर्जरका लागि आपसी लेनदेनमा सहमति ‘गिभ एण्ट टेक’ हुनैपर्छ । ‘मेरो गोरूको बाह्रौ टक्का’ भनेर अडान लिन लागियो भने मर्जर सम्भव छैन । मर्जरपछि हामी दुवै संस्था (अन्नपूर्ण विकास बैङ्क र सूर्यदर्शन फाइनान्स) लाई फाइदा भएको छ । मर्जरपछि अन्नपूर्ण विकास बैङ्क क्षेत्रीयबाट राष्ट्रियस्तरको विकास बैङ्क भएको छ भने वित्तीय अवस्था पनि बलियो भएको छ । यसैगरी, सूर्यदर्शन फाइनान्स मर्जरकै कारण विकास बैङ्कमा स्तरोन्नति भएको छ ।
मर्जरपछि बैङ्कको वित्तीय अवस्था कस्तो छ ?
मर्जरपछि यो बैङ्कको चुक्ता पूँजी रू. ७७ करोड २० लाख पुगेको थियो । आर्थिक वर्ष २०६८/६९ को अन्त्यमा बैङ्कको खुद मुनाफा रू. ३ करोड ५७ लाख रहेको छ । अघिल्लो आवको सोही अवधिमा सूर्यदर्शन फाइनान्स र अन्नपूर्ण विकास बैङ्कको खुद मुनाफा क्रमशः रू. १ करोड ५३ लाख र रू. ८ करोड १५ लाख रहेको थियो । गत आवको अन्त्यमा यो बैङ्कको लगानी रू. १ अर्ब ४६ करोड, निक्षेप रू. २ अर्ब ९ करोड र सञ्चित कोष रू. २० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सूर्यदर्शन फाइनान्सको कर्जा प्रवाह र सञ्चित कोष क्रमशः रू. ४७ करोड र रू. ३ करोड रहेको थियो ।
सोही अवधिमा अन्नपूर्ण विकास बैङ्कको कर्जा प्रवाह र सञ्चित कोष क्रमशः रू. १ अर्ब २३ करोड र रू. १४ करोड रहेको थियो । गतवर्ष निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह बढ्न सकेको छैन । सो अवधिमा बैङ्क मर्जर प्रक्रियामै रहेकाले ठूलो परिमाणमा कर्जा प्रवाह नगर्ने सहमति भएकाले नाफाको दर केही घटेको छ । हाल सुप्रिम डेभलपमेण्ट बैङ्कमा सेवाग्राहीको सङ्ख्या करीब २६ करोड रहेको छ । हाल ११ जिल्लामा १३ ओटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको यो बैङ्कले चालू आवमा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ र सुनसरी गरी पाँच जिल्लामा शाखा स्थापना गर्ने योजना बनाएको छ ।
अहिले बैङ्कको व्यावसायिक रणनीति कस्तो छ ?
बैङ्कको विकास तथा विस्तारका लागि ‘पञ्चवर्षीय गुरुयोजना’ बनाएका छौं । त्यसकै आधारमा वार्षिक कार्ययोजना निर्माण गरिएको छ । अहिले बैङ्कले साना तथा मझौला किसिमका कर्जा प्रवाहमा जोड दिएको छ । त्यसैले होला, त्यस्ता किसिमका कर्जाको माग निकै बढ्दै गएको छ । आगामी दिनमा बैङ्कले खासगरी कृषि, साना तथा मझौला व्यवसाय, साना उद्यमी, होटल, पर्यटन, ऊर्जालगायत क्षेत्रमा लगानी बढाउने योजना बनाएको छ । साना कर्जामा जोखिम कम हुने भएकाले पनि बैङ्कले यस्तो रणनीति अपनाएको हो । अहिले कुल प्रवाहित कर्जामध्ये करीब ३० देखि ३५ प्रतिशत लगानी व्यक्तिगत कर्जा रहेको छ । चालू आवमा सबै शीर्षकअन्तर्गतका कर्जामा रहेको अनुपात घटाएर बढीमा २५ प्रतिशतमा झार्ने लक्ष्य लिएका छौं । आगामी दिनमा कृषिक्षेत्रमा कर्जा वृद्धि गर्ने योजना बैङ्कले बनाएको छ ।
मर्जर प्रक्रियामा राष्ट्र बैङ्कबाट प्राप्त सहयोगको अवस्था कस्तो रह्यो ?
मर्जर प्रक्रियामा राष्ट्र बैङ्कको भन्दा पनि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहन्छ । तर, हाम्रो मर्जर प्रक्रियाका क्रममा राष्ट्र बैङ्कको भूमिका निकै महत्वपूर्ण रह्यो । दुवै पक्ष (अन्नपूर्ण विकास बैङ्क र सूर्यदर्शन फाइनान्स)को ड्यू डिलिजेन्स अडिट (डीडीए) पूरा भइसकेपछि पनि सामान्य खटपट देखिएको थियो । त्यसले मर्जर प्रक्रियामा करीब डेढ महीना ढिलो पनि बनाएको थियो । त्यस अवस्थामा राष्ट्र बैङ्कका सम्बन्धित विभागका अधिकारीहरूले दुवै पक्षलाई आफ्नै कार्यालयमा बोलाएर छलफल गरी समस्या समाधानमा ठूलो सहयोग गर्नुभएको थियो । सो सहयोगलाई हामीले नियामक निकायका तर्फबाट भन्दा पनि शुभचिन्तकको सहयोगका रूपमा लिएका छौं । पछिल्लो समयमा राष्ट्र बैङ्कले मर्जरनीतिलाई अँगालेकाले आवश्यक सहयोग नगर्ने भन्ने हुँदैन । तर, संस्थाहरूले पनि सहयोगका नाममा कानूनले नदिएका कुराहरू अपेक्षा गर्नुहुँदैन । त्यसैले यही पत्रिकामार्फत मर्जर प्रक्रियामा सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद दिन चाहन्छु ।
मर्जर प्रक्रिया शुरू गरेका तथा इच्छा देखाएका बैङ्क तथा वित्तीय संस्थाहरूलाई के भन्न चाहनुहुन्छ ?
अहिले बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या अत्यधिक छ । यसले एकातिर अस्वथ्य प्रतिस्पर्धा बढाएको छ भने अर्कोतिर अधिकांश बैङ्क तथा वित्तीय संस्थाले अपेक्षित मुनाफा आर्जन गर्न सकेका छैनन् । वित्तीय क्षेत्रमा देखिएको यस्तो समस्या समाधान गर्ने उपयुक्त उपाय मर्जर नै हो । समान उद्देश्य लिएर एउटै क्षेत्रमा छुट्टाछुट्टै सञ्चालन हुनुभन्दा आपसमा गाभिएर ठूलो र शक्तिशाली संस्था बन्नु नै दीर्घकालका लागि बढी फाइदाजनक हुन्छ । पछिल्लो समयमा उत्पादनशील क्षेत्रमा लागत बढेकाले कर्जाको क्षेत्र र आकार पनि बढेको छ ।
यसले कर्जाको बढ्दो माग आपूर्ति गर्न र बढ्दो प्रतिस्पर्धामा उत्रिनका लागि पनि मर्जरमा जानुपरेको हो । आपसमा समझदारी भएमा मात्र मर्जर सफल हुने भएकाले यो प्रक्रियामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूलाई सानातिना विषयमा नअल्झिई सहमतिमा जान आग्रह गर्छु । यसैगरी, मर्जरमा जान चाहेका बैङ्क तथा वित्तीय संस्थाहरूले प्रक्रिया शुरू गर्नुअघि साझेदारी संस्थाको सम्पूर्ण पक्षमा गहिरो अध्ययनअनुसन्धान गर्नुपर्छ । मर्जरपछिको लामो यात्रा सँगै गर्नुपर्ने भएकाले पनि हचुवाको भरमा निर्णय गर्नुहुँदैन ।