मदन लम्साल
संसारको कुनै देशमा प्रतिलिपि अधिकार राम्रोसँग लागू भएको उदाहरण दिनुपर्यो भने सीधै नेपाल भनिदिए हुन्छ । किनकि नेपालमा जति प्रतिलिपि (अर्थात् कपी गर्ने) अधिकार शायदै कुनै देशमा होला । नेपालमा जसले, जसरी, जहिले, जे पनि कपी गर्ने छूट छ । वास्तवमा कपी गर्न पाउनु कपी गर्नेको अधिकार हो नेपालमा । अरू देशमा कुरो नबुझेर कपिराइट भनेको एकले सृजना गरेको कुनै कुरा अर्कोले कपी गर्न नपाउने भन्ने ठान्दा रहेछन् । हाम्रोमा कुरो छिटो बुझ्ने मान्छे धेरै छन् ।
हाम्रो देशमा बुद्धिमान् र सृजनशील मानिस धेरै भएकाले होला शायद उनीहरूले समयमै कपिराइटको कुरा सही रूपमा बुझे । त्यसलाई व्यवहारमै उतारे । त्यसैले देशमा व्यावसायिकताको व्यापक विकास हुँदै गइरहेको छ । यसले गर्दा नेपालमा नाम चलेका संस्था वा क्षेत्रका एकसे एक व्यक्तिहरूले अरूले सृजना गरेको कुरा वा काम ठयाक्कै कपी गर्नेमा विशिष्ट क्षमता विकसित गरेका छन् ।
राज्यको चौथो अङ्गको पगरी पाएको सञ्चारमाध्यमकै उदाहरण हेरौं न । नेपालमा अहिले नाम चलेका धेरै एफएम स्टेशन कपी गर्ने कुरामा अरूभन्दा अब्बल देखिन्छन् । भएजति पत्रपत्रिका, त्यो पनि पाएसम्म सित्तैमा, मगायो अनि बिहानैदेखि तिनै पत्रपत्रिकाको समाचार आफैले सङ्कलन गरेजसरी बडा फूर्तिसाथ पढयो । त्यसो गर्दा न त ती समाचार कुन स्रोतबाट आएको हो भनेर भन्नुपर्यो, न त्यो समाचार सही हो वा गलत भन्ने छुट्टयाइरहनु पर्यो । कपिराइट भनेकै यही त हो नि । कहिलेकाहीँ स्कूलकलेजको जाँचमा चीट चोर्दा झुक्किएर किताबको पेज नम्बरसमेत सार्न पुगेजस्तो हुन जान्छ । तैपनि त्यसबारे किन मतलव राखिरहनुपर्यो र । एफएमले त्यसरी पढेको समाचार पत्रिकाले नै गलत छापेको रहेछ भनेचाहिँ ‘चोरमाथि चकार’ भनेजस्तो अप्ठयारो पर्छ । एफएम स्टेशन नाफामा चलाउने योभन्दा राम्रो काइदा पनि अरू हुन सक्तैन । न त तलब दिएर आफ्नै रिपोर्टर राख्ने झञ्झट, न समाचार ‘भेरिफाइ’ गर्ने टनटन । सीधा पत्रिका उठायो, आफैले समय र पैसा खर्च गरेर सङ्कलन गरेजस्तो गरी समाचार पढिदियो, बीचमा गीत-सङ्गीत बजाइदियो । यति गरेपछि एफएम स्टेशन चलिहाल्यो ।
गीत बजाए पनि रोयल्टी दिनुपर्ने होइन । अझ अलि नयाँ कलाकार परेछ भने त आफैले एफएमलाई उल्टै पैसा दिएर गीत बजाउन बिन्ती गर्छ । त्यसो गर्न मानेनछ भने ‘आर्टिष्ट अफ द मन्थ’ वा यस्तै केही भनेर विज्ञापन गरिदिन्छु भनेपछि नमान्ने कुरै भएन ।स्टेशन चलाउन बाँकी के नै चाहिन्छ र ? विचार कार्यक्रम भनेर यस्तैउस्तै कुनै वक्ता वा प्रवक्तालाई बोलायो, दुइचार अण्ट न सण्टका प्रश्न बनायो, जनताको अभिमत भनेर ‘पोल’ चलायो, भइगयो । त्यसरी बोलेबापत न कसैलाई सुको दिनुपर्ने हो, न अरू खासै खर्च गर्नुपर्ने हो । त्यसैले त देशमा सामुदायिक रेडियोसमेत गरेर झण्डै साढे ३ सय एफएमहरू खुलेका । काठमाडौंमा मात्रै झण्डै चार दर्जन एफएम चलेकै छन् । देशमा व्यावसायिकताको योभन्दा बढी विकास के कुरामा खोज्ने ? रेडियो नेपाल, रेडियो सगरमाथालगायत केही एफएमले भने ‘कपिराइट’ को अर्थ नबुझेर समाचार पढ्दा पत्रिकाको नामसमेत भन्ने, तलब दिएरै रिपोर्टर राख्ने गरेका छन् रे ! तिनको मूर्खताको के कुरा गर्नु ?
कपिराइटको सही अर्थ बुझ्नेमा एफएमहरू मात्र रहेछन् भन्ने नठान्नुहोला । नेपालका कतिपय पत्रिकाहरू पनि त्यस कुरामा चतुर नै छन् । कोही सीधै छाप्छन्, कोही अनुवाद गरेर । त्यस्तै नेपालका कतिपय विज्ञापन एजेन्सीहरूले पनि कपिराइटको महत्व बुझेरै आफ्ना नेपाली ग्राहकका लागि विदेशी खासगरी भारतीय विज्ञापन हुबहु कपी गरेर दिने गरेका छन् ।कपिराइटको चेतना भएकै कारण त नेपालमा यतिका ब्राण्ड, ट्रेडमार्क, डिजाइन र कम्पनीका नाम ठयाक्कै उही वा उस्तैउस्तै हुने गरेका । कतिपय बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको त नाम मात्र होइन, लोगोसमेत हुबहु देखिन्छ । हुन पनि हो, एउटाले मिहिनेत गरिसकेपछि उस्तैउस्तै कुराका लागि फेरि नयाँ बनाउन समय र पैसा किन बर्बाद गरिरहने ? पैसा खर्च नगर्नु पनि पैसा कमाएसरह हो ।
कपी गर्ने अधिकार सुरक्षित गर्नकै लागि भनेर २०६१ सालदेखि नै नेपालमा नेपाल कपिराइट रजिष्ट्रार्स अफिस (नेकरअ) भनेर कालिकास्थानमा खुलेको छ । नेकरअले कपिराइटको अधिकार सुरक्षित गर्न भनेर खुब काम गरेको देखिन्छ । त्यसै भएर त यत्तिका धेरै सृजनाहरू कपी हुने गरेका । नेपाल पनि विश्व व्यापार सङ्गठन (डब्लूटीओ) को सदस्य भइसकेको नाताले पनि नेपालले बढीभन्दा बढी गीत, सङ्गीत, ट्रेडमार्क, लोगो, नाम, समाचार आदि सृजनाहरू कपी गर्दै जानुपर्ने हुन्छ । भोलि के थाहा जुन संस्था वा व्यक्तिले सबैभन्दा बढी कपी गर्छ, उसलाई नेकरअ वा डब्लूटीओले ठूलै पुरस्कार पो दिन्छ कि ?