पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको निष्कर्ष निकालिएको छ । स्थानीय निकायको निर्वाचन भएपछि मुलुकको आर्थिक विकासले तीव्र गति लिने सबैको आकलन छ । त्यही सोचले पनि जनताले घामपानी नभनीकन आफ्नो अमूल्य मत दिएर प्रतिनिधि छानेका हुन् । तर, निर्वाचनको परिणामले भने अझै पनि त्यस्तो अवस्था देखाउँदैन । कुनै पार्टीविशेषले विनाअवरोध विकास गर्ने अवस्था अझै बन्ने देखिँदैन । यसले दलहरूलाई नै मिलिजुली विकास गर भन्ने वातावरण बनाइदिएको देखिन्छ ।
दलहरू धेरै भएका कारण नै राजनीतिक अस्थिरता बढेको सबैको बुझाइ छ । विचार र सिद्धान्तभन्दा पनि पद र पैसाका लागि राजनीति गर्ने सोचमा परिवर्तन नआएसम्म मुलुकको विकास सम्भव छैन । अहिले स्थानीय निकायको निर्वाचनमा प्रमुख राजनीतिक दलका बीच प्रतिस्पर्धा भए पनि अन्य साना पार्टीलाई पनि जनादेश प्राप्त हुने देखिन्छ । यसले मिलेर राज्य सञ्चालन गर्न जनताले अधिकार दिएको भन्ने बुझाउँछ । देश र जनताको हितमा ती विभिन्न विचार प्रयोग भयो भने जनताले आफ्नो अमूल्य मत दिएको सही ठहरिनेछ । तर, विकासभन्दा पनि पद र पैसाकै लागि राजनीति गर्ने सोचमा परिवर्तन आउन सकेन भने जनताको जनादेशमा तुषारापात हुन्छ । त्यस्तो व्यवहार कुनै पनि दल र निर्वाचित प्रतिनिधिले नगरुन् भन्ने कामना गरौं ।
कृतिना पौडेल
गोदावरी, ललितपुर ।








