Latest posts by सरु (see all)

साङ्हाई (चीन) । चीनले सीमापार लगानीमा कडाइ गरेको छ । विदेशी बजारमा होटल र फूटबल समूह किन्नेजस्ता हाई–प्रोफाइल एक्विजिशनमा कडाइ गर्न सरकारले त्यस्तो गरेको हुन सक्ने अनुमान गरिएको थियो । तर, नियामकहरूले जुवातास र यौन बजारजस्ता न्यून प्रोफाइलका क्षेत्रलाई पनि तारो बनाएका छन् । चीनको मन्त्रीपरिषद्को कार्यालयले शुक्रवार विदेशी बजारमा गरिने एक्विजिशनसम्बन्धी नयाँ कानून जारी गरेको छ । सो कानूनले हालैका वर्षमा सीमापारका बजारमा बगेको लगानीको बाढीलाई थप नियन्त्रण गर्नेछ । पछिल्लो कानूनले घरजग्गा, होटल, मनोरञ्जन, स्पोर्ट्स क्लब र चलचित्र उद्योगमा लगानी गर्न प्रतिबन्ध लगाएको छ । कानूनअनुसार जुवातास र यौन क्षेत्रमा लगानी गर्न पनि बन्देज गरिएको छ । साथै राष्ट्रिय हित र सुरक्षामा जोखीम उत्पन्न गराउनेतर्फ औल्याउँदै कानूनले मुख्य प्रतिरक्षा प्रविधिको निर्यातमा समेत रोक लगाएको छ । एजेन्सी




