असोज १९, काठमाडौं (अस) । आइतवार तीन कम्पनीहरुको बोलकबोलद्धारा लिलामीमा शेयर खरीद गर्ने अन्तिम मिति रहेको छ । आइतवार बोलकबोल द्धारा खरीद शेयर खरीद गर्ने कम्पनीहरुमा कामना सेवा विकास बैङ्क, गोर्खाज फाइनान्स लिमिटेड र सनराइज बैङ्क लिमिटेड रहेको छ ।
गोर्खाज फाइनान्स लिमिटेडले बोलकबोलद्धारा हकप्रद शेयर असोज ४ गतेदेखि लिलामीमा ल्याएको थियो । कम्पनीले संस्थापक समूहतर्फको ४ लाख २४ हजार ४ सय २० कित्ता शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले न्यूनतम प्रति शेयर मूल्य रू. सय तोकेको हुँदा सोभन्दा बढी मूल्य अङ्कित गरि बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीले शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता र अधिकतमको लागि भने कुनै हद नराखेको जानकारी दिएको छ
सनराइज बैङ्क लिमिटेडले ७ लाख १० हजार ७ सय ४३ कित्ता शेयर बोलकबोलद्धारा असोज ८ गतेदेखि विक्री गरेको छ । बैङ्कले संस्थापक तर्फको ७२ हजार ६ सय १२ कित्ता र सर्वसाधारण समूह तर्फको ६ लाख ३८ हजार १ सय ३१ कित्ता शेयर लिलामद्धारा विक्री गरेको हो । बैङ्कले न्यूनतम प्रति शेयर रू. सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरि बोलकबोल गर्नु गर्ने बताएको छ । आवेदकहरुले बोलपत्र पेश गर्दा संस्थापक तर्फको न्यूनतम १ हजार कित्ता, अधिकतममा पूरा आवेदन दिन पाउने र सर्वसाधारण समूहको न्यूनतम १ सय कित्ता र अधिकतममा पूरा कित्ताको लागि आवेदन दिन पाउने रहेको छ ।
कामना सेवा विकास बैङ्क लिमिटेडको ४५ हजार ४ सय ८७ दशमलव ६० कित्ता हकप्रद शेयर असोज १६ गतेदेखि लिलाम विक्री गरेको छ । बैङ्कले संस्थापक समूह तर्फ २७ हजार १ सय २० दशमलव ३४ कित्ता र सर्वसाधारण समूह तर्फ १८ हजार ३ सय ६७ कित्ताको लागी शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर रू. सय तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागी बोलकबोल गर्दा संस्थापक समूहको लागी न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको लागी १ सय कित्ता लागी आवेदन दिन सक्नेछ ।











