Latest posts by सरु (see all)

पेचिङ (चीन) । अमेरिकी प्रविधि कम्पनी एप्पल इङ्कको नयाँ आईफोनमा समस्या देखिएको छ । चीनको राज्यनियन्त्रित सञ्चार माध्यमका अनुसार आईफोन ८ को ब्याट्री फुल्दा फोन फुटेको पाइएको छ । यस खबरले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा सुस्ताउँदो विक्री बढाउने दाउमा रहेको कम्पनीलाई ठूलो धक्का लाग्ने विश्लेषण गरिएको छ । यसअघि ताइवान र जापानमा आईफोन ८ को ब्याट्री फुलेर फोन फुटेका खबर सार्वजनिक भएका थिए ।
बिहीवार आफ्नो वेबसाइटमा चीनको सरकारी अनलाइन सञ्चार माध्यम द पेपर डट सीएनले अक्टोबर ५ मा डेलिभरी लिँदा नै आईफोन ८ को ब्याट्री फुलेको पाइएको र ब्याट्री फुलेर फोन चर्किंदा सिमकार्ड हाल्ने ठाउँ र फोनको आन्तरिक हिस्सा नै देखिएको समाचारमा बताएको थियो । यद्यपि, फोनमा विष्फोट हुने सङ्केत भने नदेखिएको समाचारमा भनिएको छ । आफूले अनलाइन कम्पनी जेडीडटइङ्कबाट उक्त फोन किनेको र फोनमा समस्या देखेपछि चार्ज नगरिकनै फिर्ता गरेको उक्त आईफोन क्रेताले समाचारमा बताएका छन् । यस विषयमा छानबिन भइरहेको भन्दै कम्पनी प्रवक्ताले केही पनि बताउन मानेनन् । एजेन्सी











