Latest posts by सरु (see all)

असोज २२, काठमाडौं (अस) । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले आइतवार खड्काले हालेको रिट निवेदन माथि आदेश दिंदै तत्काल निगम प्रमुख पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
जग्गा खरीद प्रकरणमा अनियमितता गरेको लगायतका विषयमा सरकारले यहि असोज २ गते उनलाई निगम प्रमुख पदबाट बर्खास्त गरेको थियो । निगमका कार्यकारी निर्देशक खड्काले आफूलाई कानून विपरित हटाइएको दावी गर्दै असोज ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
मन्त्रिपरिषद् बैठकले आपूर्तिमन्त्रीको प्रस्ताव बमोजिम खड्कालाई निगमको कार्यकारी निर्देशकबाट हटाएको थियो । इन्धन भण्डारणको लागि जग्गा खरीद गर्दा भ्रष्टाचार गरेको भनी आरोप लागेका कार्यकारी निर्देशक खड्कालाई मन्त्रिपरिषद्को बैठकले सो पदबाट हटाएको थियो ।
रिट निवेदनमा आफूलाई ४ वर्षको लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्ति गरिएको भएपनि सो अवधि नपुग्दै मन्त्रिपरिषद्ले हटाएको आरोप खड्काले लगाएका थिए । खड्काले आफूलाई लागेका आरोपको प्रतिवाद गर्न नदिई एक्कासी हटाइएको उल्लेख गर्दै रिट निवेदनमा यसले प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको उल्लेख गरेका थिए ।










