निर्यातयोग्य वस्तुको उत्पादनमा चासो दिएनन् : उद्योगमन्त्री
काठमाडौं । नेपालमा उत्पादित वस्तुहरू अमेरिकी बजारमा सहज रूपमा पुर्याउने उद्देश्यले अमेरिकाले उपलब्ध गराएको शून्य भन्सार सुविधा नेपालले सदुपयोग गर्न नसकेको देखिएको छ । उद्योगमन्त्री सुनीलबहादुर थापाले पछिल्लो समय बढ्दै गएको व्यापारघाटालाई न्यूनीकरण गर्न अमेरिकाले उपलब्ध गराएको उक्त सुविधा पर्याप्त भए पनि सरकार तथा व्यवसायीहरूले तदारुकता देखाउन नसक्दा नेपाल लाभान्वित हुनबाट चुकेको बताएका छन् ।
पछिल्लो समय नेपालका व्यवसायीहरूले सजिलै उत्पादन हुने वस्तुको उत्पादनमा बढीभन्दा बढी जोड दिएको मन्त्री थापाको आरोप छ । रणनीति र आर्थिक सामाजिक अनुसन्धान केन्द्र (आईएसएसआर)सँगको सहकार्यमा नेपालस्थित अमेरिकी राजदूतावास र प्याभिलियन ग्रूपले सोमवार राजधानीमा आयोजना गरेको १ दिने व्यापार प्रवद्र्धन कार्यशाला गोष्ठीमा मन्त्री थापाले अमेरिकाद्वारा प्रदान गरिएको शून्य भन्सारका वस्तुको उत्पादन एवम् निर्यातमा जोड दिन सबै व्यवसायीलाई आग्रहसमेत गरे ।
नेपालले अमेरिकामा शून्य भन्सारमा ७७ ओटा वस्तु निर्यात गर्न सक्ने व्यवस्था रहेको छ । अमेरिकाले २०७२ सालको भूकम्पपछि नेपालको अर्थतन्त्रलाई थप सहयोग पुर्याउने उद्देश्यले अघिल्लो आवमा ६६ वस्तुमा भन्सार छूट दिने व्यवस्था लागू गरेको थियो । तर, गत आव २०७३/७४ मा काठमाडौंमा बसेको ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रीमेण्ट (टिफा) काउन्सिलकोे तेस्रो बैठकमा थप ११ वस्तुमा भन्सार नलाग्ने निर्णय भएको थियो ।
हालको अवस्थामा नेपालको अन्य सबै क्षेत्र सकारात्मक
दिशातर्फ अघि बढिरहे पनि चुलिँदो व्यापारघाटाले भने मुलुकलाई झनै पछाडि पारेको नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिजको भनाइ छ । यस्तोमा नेपाललाई अमेरिकाद्वारा प्रदान गरिएको शून्य भन्सार सुविधाको सदुपयोग गर्दै व्यापारघाटा न्यूनीकरणमा सहयोग पुर्याउन उनले आग्रह गरिन् ।
सरकारले व्यवसायीका लागि उचित नीतिनियम तयार गरी शून्य भन्सारका सामानको निर्यात बढाउनुपर्नेमा उनको जोड थियो ।
थुप्रै मुलुकसँग नेपालले व्यापारघाटा झेलिरहँदा अमेरिकासँगको व्यापार भने नाफामै रहेको वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे बताउँछन् । यस्तो अवस्थामा नेपालले पाएको सुविधालाई प्रयोग गर्दै अघि बढ्नु आवश्यक रहेको घिमिरेको भनाइ छ । ‘नेपालले निर्यात गर्ने देशमध्ये अमेरिका दोस्रो प्रमुख देशका रूपमा रहेको छ,’ उनले भने, ‘यसको भरपुर फाइदा लिई नेपालले बढीभन्दा बढी वस्तु निर्यात गर्नुपर्छ, जसले गर्दा व्यापारघाटा कम गर्न मद्दत पुर्याउनेछ ।’
नेपालले आफ्ना उत्पादनहरूको गुणस्तर वृद्धि गर्दै निरन्तर रूपमा निर्यात गर्नु अत्यावश्यक रहेको अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की बताउँछन् । नेपालले उक्त ७७ ओटा वस्तु सजिलै उत्पादन गर्न सक्ने भए पनि त्यसतर्फ त्यति चासो नदेखाएको कार्कीको गुनासो छ । ‘नेपालका व्यवसायीहरूले उक्त विविध वस्तुको उत्पादनमा लगानी गर्नु निकै जरुरी छ,’ उनले भने, ‘व्यवसायीले लगानी वृद्धि गर्दै गुणस्तरीय वस्तु उत्पादन गर्दा त्यसको निर्यातमा ठूलो सहयोग पुग्ने अपेक्षा छ ।’ यसरी अमेरिकी सरकारले प्रदान गरेको सुविधा सदुपयोग गर्न नेपाल सफल बने, आगामी दिनमा यसले व्यापारघाटा कम गर्न ठूलो सहयोग पुग्ने कार्कीको दाबी छ ।
व्यवसायीले उद्योग एवम् कलकारखानामा लगानी गर्दा त्यसको सुरक्षाको प्रत्याभूति नभएको कार्यक्रममा सहभागी अन्य वक्ताको भनाइ थियो । यसले व्यवसायमा एक प्रकारको चुनौती खडा गरेको उनीहरूले बताए । सरकारले मुलुकमा उचित वातावरणको सृजना गरी वस्तु उत्पादनमा सहयोग पु¥याउनु पर्नेमा सबै वक्ताले जोड दिएका थिए ।










