Latest posts by सरु (see all)

प्रमुख गतिविधि
गत असारमा सम्पन्न कम्पनीको १८ औं, १९ औं, २०औं, २१ औं र २२ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ सम्मको सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि १ दशमलव ५ प्रतिशत नगद लाभांश पारित गरेको छ । साथै, उक्त सभाले पूँजी वृद्धिका लागि बोनस वितरणपछि ६ सय प्रतिशत हकप्रद प्रस्ताव गरी स्वीकृतका लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :
- आर्थिक वर्ष २०७३/७४ को चौथोे त्रैमासमा कम्पनी खुद मुनाफा ६२ प्रतिशत वृद्धि गरी ४ करोड ५५ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उसले २ करोड ८१ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
- पूँजी वृद्धिसँगै कम्पनीले प्रतिशेयर आम्दानी बढाएको छ । यो अवधिमा उसको पूँजी २० प्रतिशत वृद्धि भएको छ भने प्रतिशेयर आम्दानी ३५ प्रतिशत वृद्धि भएको छ । प्रतिशेयर आम्दानी २७ दशमलव ७७ रुपैयाँबाट बढेर ३७ दशमलव ५२ रुपैयाँ पुगेको छ ।
- कम्पनीको जगेडा ३३ प्रतिशत घट्न पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १७ करोड ७ लाख रहेको जगेडा यो त्रैमासमा ११ करोड ४८ लाख पुगेको छ ।
- कम्पनीको बीमा कोष २१२ प्रतिशत वृद्धि गरेर १५ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
- कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ४५ प्रतिशत वृद्धि भएर २६ करोड ३३ लाख पुग्दा खुद बीमा शुल्क आम्दानी गतवर्षको भन्दा ३ प्रतिशत वृद्धि भएर १० करोड १८ लाख पुगेको छ ।
- यस त्रैमाससम्ममा कुल दाबी भुक्तानी रकम ९१ प्रतिशत बढेर २४ करोड १९ लाख छ । त्यस्तै, खुद दाबी भुक्तानी ४ करोड ८१ लाख छ, जुन अघिल्लो आर्थिक वर्षको भन्दा २३ प्रतिशत कम हो ।
- कुल दाबी भुक्तानी सङ्ख्या १ हजार ३ सय ८० छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या ६ सय ५६ छ ।
- कम्पनीको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी ३७ दशमलव ५२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ६५ दशमलव ३० गुणा र प्रतिशेयर नेटवर्थ ३ सय ८१ दशमलव ५३ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७ सय २० दशमलव ४६ रुपैयाँ छ ।

निष्कर्ष :
समीक्षा अवधिमा कम्पनीले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको प्रतिवेदन प्रस्तुत गरेको देखिन्छ । यसै आवधिमा कम्पनीले बीमा कोषको आकारमा ठूलो वृद्धि गर्न गरेको छ । तर, चुक्ता पूँजी १ अर्ब बनाउन ६ सय प्रतिशत हकप्रद बेच्ने तयारी गरिरहेको कम्पनीलाई उक्त हकप्रदपछि प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न चुनौती थपिनेछ । साथै, शेयरधनीले फेरि पनि उचित प्रतिफल पाउन केही वर्ष पर्खिनुपर्ने हुन सक्छ ।
प्राविधिक विश्लेषण : २५६० देखि २८६० को सीमाभित्र कारोबार हुँदै एभरेष्ट इन्स्योरेन्स

प्रतिरोध २ : २७५० । प्रतिरोध १ : २७०० । हालको अन्तिम मूल्य : २६४५ । टेवा १ : २६०० । टेवा २ : २५००
बजारको अवस्था
यस माथिको विश्लेषणमा समायोजित चार्ट प्रयोग गरिएको छ, जसमा २० प्रतिशत बोनसपछिको घटाइलाई समायोजन गरिएको छ । यस चार्टबमोजिम एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको छ । कम्पनीको शेयरमूल्य २ हजार ५ सय ६० देखि २ हजार ८ सय ६० को सीमाबीच कारोबार हुँदै आएको छ । तल्लो बिन्दुले टेवाको काम गरिरहेको छ भने माथिल्लो बिन्दुले प्रतिरोधको काम गर्दै आएको छ र हालको समयमा शेयरमूल्य टेवा नजीक रहेको छ ।
मुभिङ एभरेज
६ दिने र ३१ दिने मुभिङ एभरेजअनुसार एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य घट्दो प्रवृत्तिमा छ ।
एडीएक्स
एडीएक्स सूचकले हालको अवस्थामा यस कम्पनीको शेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको बुझाउँछ ।
एटीआर
एटीआर सूचक घट्दो प्रवृत्तिमा रहेको हुनाले केही महीनादेखि कम्पनीको शेयरमूल्यमा उतारचढाव घट्दै गएको देखिन्छ ।
म्याकडी
म्याकडी सूचकअनुसार हालको अवस्थामा खरीदकर्ता र विक्रेताको चापबराबर रहेको बुझाउँछ ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकले यस कम्पनीको शेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको बुझाएको हुनाले हालको अवस्थामा पर्खेर हेर्नुपर्ने हुन्छ । कुनै पनि दिशामा जाने निश्चित भएपछि लगानी गर्दा जोखीम कम हुने देखिन्छ ।











