Latest posts by सरु (see all)
काठमाडौं (अस) । सोमवार अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि बिहीवार गरिने भएको छ । महासङ्घ केन्द्रीय कार्यसमितिको बुधवार साँझ बसेको आकस्मिक बैठकले अन्त्येष्टिका कारण बिहीवारका लागि तय आन्दोलनको कार्यक्रम भने शुक्रवार सारेको छ । श्रद्धाञ्जलिका लागि गौचनको शव अनामनगरस्थित महासङ्घको कार्यालयमा राखिनेछ । दाहसंस्कार गर्न ढिला हुँदा परम्पराअनुरूप गर्नुपर्ने काममा बाधा पुग्ने भन्दै थकाली सेवा समिति तथा परिवारजनको आग्रहमा शव बुझ्न लागिएको नेपाल निर्माण व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
गौचनको मङ्गलवार त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिए पनि आफन्त तथा व्यवसायीले शव बुझ्न नमान्दा उनको शव सोही अस्पतालमै रहेको छ । बौद्ध परम्पराअनुसार ३ दिन र ७ दिनमा विशेष कर्म गर्नुपर्ने भएकाले आफूहरूले महासङ्घको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शव बुझ्ने वातावरण मिलाउन आग्रह गरेको मृतक गौचनका काका ओमकार गौचनले बताए । उनले भने, ‘देशभरबाट आफन्त आएका छन् । दाहसंस्कार विधिका लागि लामाहरू तयार छन् । अस्तु नभएसम्म हामीले कुनै काम गर्न मिल्दैन । त्यसैले आन्दोलनकै बीच ऐक्यबद्धता जनाउँदै शव बुझ्ने निर्णय गरिएको हो ।’
महासङ्घका सल्लाहकार तथा आन्दोलन मूल सङ्घर्ष समितिका संयोजक शकुन्तलाल हिराचनले महासङ्घले हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने अडान लिए पनि व्यावहारिक बाध्यताले यो निर्णय गरिएको बताए । उनका अनुसार हत्यारा पक्राउ नगरेसम्म आन्दोलन भने जारी रहनेछ । महासङ्घले बुधवार पत्रकार सम्मेलन गरेर विभिन्न सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । महासङ्घले बुधवार देशका ५० जिल्लाका मुख्य शहरहरूमा १ घण्टा चक्काजाम गरेको थियो । सम्मेलनमा हत्यारा पत्ता नलागेसम्म देशभरका निर्माण व्यवसायीहरू कुनै पनि बोलपत्रहरूमा सहभागी नहुने तथा राष्ट्रिय गौरवका आयोजनाको कामसमेत ठप्प पार्ने महासङ्घका कार्यवाहक अध्यक्ष विष्णुुभाइ श्रेष्ठले जानकारी दिए ।
यसैबीच गौचनको हत्यापछि विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरी हत्याको भत्सर्ना गरेका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, होटल एशोसिएशन नेपाल हान, नेपाल समुद्रपार निकासी पैठारी सङ्घलगायत संस्थाले विज्ञप्ति जारी गर्दै हत्यारालाई पक्राउ गरी कडा कारबाहीको माग गरेका छन् ।










