
Latest posts by सरु (see all)

सुनील केसी
प्रमुख कार्यकारी अधिकृत
एनएमबी बैङ्क
एनएमबी बैङ्कले ‘बैङ्क अफ दि इयर २०१७’को उपाधि प्राप्त गर्न सफल भएको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सियल टाइम्सद्वारा प्रकाशित ‘द बैङ्कर’ म्यागजिनले मङ्सिर १४ गते (नोभेम्बर ३०) एनएमबीलाई सन् २०१७ को सर्वोत्कृष्ट नेपाली बैङ्कको रूपमा अवार्ड प्रदान गरेको हो । उक्त म्यागाजिनले वर्षेनि विश्वव्यापी रूपमा प्रत्येक देशको सर्वोत्कृष्ट बैङ्कलाई अवार्ड वितरण गर्दै आएको छ । यस वर्ष एनएमबीसँगै विश्वका १ सय ४१ देशका बैङ्कले उक्त अवार्ड प्राप्त गरेका छन् । लण्डनमा आयोजित समारोहमा बैङ्क सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनील केसीले उक्त अवार्ड ग्रहण गरेका थिए । प्रस्तुत छ, बैङ्कका सीइओ सुनील केसीसँग अभियान संवाददाता ममता थापाले गरेको कुराकानी :
एनएमबी ‘बैङ्क अफ दि इयर २०१७’को उपाधि पाउन कसरी सफल भयो ?
यो अवार्ड पाउनुमा मुख्य श्रेय बैङ्कका लागि वर्षौंदेखि मेहनत गरिरहेका सम्पूर्ण कर्मचारीलाई जान्छ । कर्मचारी, बोर्डका पदाधिकारी र सबै ग्राहकको योगदानले यस्तो सफलता मिलेको हो । कुनै पनि बैङ्कका लागि यो अवार्ड पाउनु ठूलो उपलब्धि हो । आगामी दिनमा हाम्रा ग्राहकलाई अझै बढी तथा नयाँ सेवाहरू दिँदै जान यो पुरस्कारले हौसला प्रदान गरेको छ ।
नेपालमा सञ्चालित २८ ओटा वाणिज्य बैङ्कमध्ये एनएमबीले नै बैङ्क अफ द इयर पाउनुको आधार के हो ?
यसका लागि बैङ्कको वासलात (ब्यालेन्स सिट) र त्यसमा भएको सुधार मात्र नहेरी बैङ्कले गर्ने सबै खालका बिजनेशलगायतका कामको गतिविधिलाई समेत मूल्याङ्कन गरिएको छ । निर्णायक टोलीले समग्र रणनीति, बहु च्यानल बैङ्किङ र वित्तीय समावेशितालगायतलाई छनोटको आधार बनाएको थियो । हामीले गरेको कामको प्रणाली र यसले समाजको समग्र अर्थ व्यवस्थालाई कस्तो सकारात्मक प्रभाव पारेको छ भन्ने आधारलाई पनि समेटिएको छ । हामीले समग्र वित्तीय समावेशीकरणलाई जोड दिएकाले पनि सहयोग गरेको हुनसक्छ । हामी मूलधारको बैङ्किङभन्दा फरक किसिमबाट हाम्रो व्यवसाय लैजाँदै छौं । अब यो अवार्डले हामीलाई आफूले गरिरहेको कामलाई अघि बढाउन हौसला प्रदान गरेको छ ।
नेदरल्याण्ड सरकारको ५१ प्रतिशत शेयर रहेको एफएमओ विकास बैङ्कसँगको जोइण्ट भेञ्चरका कारणले यो अवार्ड पाउन मद्दत पुगेको हो कि ?
एफएमओ बैङ्कले ८५ ओटा राष्ट्रका विभिन्न बैङ्कहरूसँग साझेदारको रूपमा काम गर्छ । यो दिगो विकासको क्षेत्रमा काम गर्ने बैङ्क हो । ऊर्जा, कृषि, लघुवित्त जस्ता क्षेत्रमा यो बैङ्क केन्द्रित रहेको छ र नेपालमा पनि ऊर्जा क्षेत्रमा लगानी बढाउने योजना छ । यो बैङ्कले नाफाभन्दा पनि दिगो विकासलाई जोड दिन्छ । यसले झण्डै ४७ वर्षदेखि काम गरिरहेको छ । एफएमओसँगको जोइण्ट भेञ्चर भएर मात्र यो अवार्ड प्राप्त गरेको होइन । यो अवार्ड स्थानीय बैङ्कले पनि पाएका छन् । गतवर्षमात्र एनआईबीएल बैङ्कले पाउन सफल भएको थियो । विशेषतः हामीले ५ ओटा बैङ्कसँग सफल मर्जर पनि गर्यौं । हामीले नेपालको बैङ्किङकै सबैभन्दा ठूलो लगानी वैदेशिक लगानी ल्याउन सक्यौं । एनएमबी बैङ्क ‘ग्लोबल अलायन्स फर बैङ्किङ अन भ्यालुज’ भन्ने एउटा अलायन्सको सदस्य रहेको छ ।
यो अलायन्स २००९ मा विश्व आर्थिक सङ्कट आएपछाडि विश्वका विभिन्न देशका बैङ्कहरू मिलेर निर्माण भएको थियो । त्यो अलायन्सको मुख्य उद्देश्य भनेको हामीले गरेको लगानीले सकारात्मक परिवर्तन ल्याउनु पर्यो भन्ने हो । आर्थिक, वातावरणीय र सामाजिक विकासका लागि बैङ्कहरूले पनि योगदान पुर्याउनु पर्यो भन्ने एक प्रकारको उद्देश्य लिएर यो बनेको हो । यो अवधारणा अवलम्बन गर्ने नेपालकै पहिलो बैङ्क एनएमबी हो । हाम्रो उद्देश्य भनेको हामीले नेपालमा बैङ्किङ गरेर एउटा यस्तो सचेतना निर्माण गर्नुपर्यो, जसले गर्दा भोलिको दिनमा हुने आर्थिक दुर्घटनाबाट जोगाउन मद्दत पुगोस् । यसैले हामीले व्यवसायको वृद्धिलाई मात्र नहेरी त्योभन्दा फरक किसिमको काम गरेकोले हाम्रो काम, नेपालको समग्र सामाजिक, आर्थिकलगायतकोे अवस्था आदिलाई समेत मूल्याङ्कन गरेर यो अवार्ड दिन योग्य ठानिएको हुनुपर्छ । यो अवार्ड दिनुअघि आयोजकसँग भएको कुराकानीमा यही विषयमा केन्द्रित भएर सोधिएको पनि थियो ।
एनएमबीमा प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्नु भएको पनि ९ महीना भयो । यसबीचमा विशेष के कस्ता परिवर्तन तथा प्रगति भए ?
विगत ९ महीनामा बजारमा तरलता त्यति सहज रूपले गइरहेको थिएन । चुनौतीपूर्ण अवस्थामा पनि हामीले राम्रैसँग अगाडि बढाउन सक्यौं । पहिलो त्रैमासको परिणाम पनि राम्रो दिन सकेका छौं । हाम्रो मुख्य काम नै दीर्घकालीन रूपमा नेपालको उत्कृष्ट बैङ्क बनाउने हो । यही लक्ष्य लिएर हामी अघि बढिरहेका छौं । गतवर्ष एफएमओसँग गरेको जोइण्ट भेञ्जरको सहमतिअनुसार यसलाई अन्तरराष्ट्रिय बजारमा भएका विभिन्न राम्रा किसिमका अभ्यास, प्रोडक्ट, सेवाहरूलाई नेपालमा ल्याउने र नेपाली ग्राहकलाई पहिलाभन्दा फरक किसिमले प्रोडक्ट र सेवा दिने हाम्रो लक्ष्य हो । यसमा निकै अघि बढिसकेका छौं । हामीले अरूभन्दा फरक किसिमका प्रोडक्टहरू दिइरहेका छौं । भर्खरै मात्र ३५ वर्षे घर कर्जा जारी गरेका छौं । यस्तै, हामीले भर्खरै भिसाको प्लाटिनम कार्ड पनि लञ्च गरेका छौं । यस्तो सेवा नेपालमा कम बैङ्कले मात्र दिने गरेका छन् । हामीले लिएको लक्ष्यअनुरूप हिँडिरहेकाले आगामी दिनमा एनएमबीले पृथक् पहिचान बढाउन र प्रभाव पार्न सक्छौं ।
एनएमबीले नेदरल्याण्डको एफएमओ बैङ्कबाट शेयरबापत थप रकम ल्याएपछि उक्त बैङ्कको सहयोगको कारण एनएमबीले नेपालमा नयाँ खालको सोच, प्रविधि तथा प्रोडक्ट लिएर आउने भनिएको थियो नि ?
हामी अब ८ अर्ब रुपैयाँको चुक्तापूँजी पुर्याउने चरणमा छौं । यसैले बैङ्कको आकार बढ्दो क्रममा छ । यसैले अब आन्तरिक रूपमा शीप विकास गर्न लागिरहेका छौं । आगामी समयमा अझै प्रतिस्पर्धा बढ्ने देखिएको छ । विशेष त अहिलेको माहोल हेर्दा चुनाव पछाडि नयाँ राजनीतिक संयन्त्रमा प्रदेशहरू भएपछि फरक किसिमले बैङ्किङलाई अगाडि लैजानुपर्ने आवश्यकता देखिन्छ । यसपछि थुप्रै अवसरहरू प्राप्त हुने देखिरहेका छौं र यससँगै चुनौतीहरू पनि छन् । अहिले हामी नयाँ अवसर र चुनौतीहरूलाई चिनेर कसरी काम गर्ने भनेर कर्मचारीहरूलाई क्षमतावृद्धिका लागि काम गरिरहेका छौं । यसमा हामीलाई एफएमओले सहयोग गरेको छ । यस्तै, हामी साना तथा मझौला व्यवसाय (एसएमई) लक्षित बैङ्किङलाई अघि बढाएर लैजान खोजिरहेका छौं ।
यसका लागि एफएमओले प्राविधिक रूपमा सहयोग गरिरहेको छ । समग्रमा हेर्दा एफएमओ र एनएमबीको जोइण्ट भेञ्चरपछिको सहकार्यको उपलब्धि नै काम गर्ने टिमलाई बलियो तथा सुदृढ बनाउनु हो । यसपछि हामी अन्तरराष्ट्रिय अभ्यासमा भइरहेका कामलाई कसरी नेपाली बजार सुहाउँदो हुन्छ भनेर हेर्नेछौं । अहिले एफएमओले संस्थागत सुशासनलाई कसरी अगाडि लानुपर्छ भनेर सहयोग गरिरहेको छ । बेलाबेलामा कर्मचारीलाई लगेर तालीम दिइरहेको छ । यसबाहेक विभिन्न तालीमका लागि फण्डिङ गरेर सहयोग गरिरहेको छ । यसैगरी, नेपालमा वातावरणसम्बन्धी जोखीमलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि सचेत गराइरहेको छ । यो नौलो खालको अवधारणा हो ।
वातावरणसम्बन्धी जोखीमलाई व्यवस्थापन गर्ने कार्य कसरी शुरू गरिएको छ ?
यसका लागि आन्तरिक रूपमा कसरी रणनीति बनाउने भनेर तयारी गरिरहेका छौं । त्यो कामको शुरुआत भनेको त पहिला हामी आन्तरिक रूपमा टिम र रणनीति बनाउने हो । बाहिर आउन समय लाग्न सक्छ । कुनै पनि नयाँ कुरा गर्दा सबैभन्दा पहिला आफै तयार भएर मात्र बाहिर जानु पर्यो । त्यसपछि मात्र हामी अन्य संस्था वा उपभोक्तासमक्ष पुग्छौं ।
बैङ्कले हालै प्लाटिनम कार्ड लञ्च गरेको छ । त्यो कार्डको विशेषता के हो ?
प्लाटिनम कार्ड नर्मलभन्दा माथिल्लो स्तरको कार्ड हो । यो कार्ड जसले लिनुहुन्छ, हामीले उहाँको निःशुल्क बीमा गरिदिएका छौं । अर्को कुरा विभिन्न ठूल्ठूला आउटलेट तथा होटलहरूमा छूट सुविधा पनि लिन सकिन्छ । अर्को भनेको यसको भ्यालु नै हो ।
एनएमबीमा एफएमओको थप शेयर आएपछि के फाइदा भएको छ त ?
फाइदाभन्दा पनि यसरी नेपालको लागि एफडीआई आउनु भनेको उद्योग र अरू क्षेत्रका लागि पनि प्रोत्साहनको कुरा हो । बैङ्कको हकमा हेर्दा हाम्रो बोर्ड डाइरेक्टरको रूपमा पनि त्यहाँबाट अनुभवी प्रतिनिधि पाएको छ । त्यो पनि हाम्रा लागि राम्रो कुरा हो । जसले गर्दा हामीले अन्तरराष्ट्रिय अनुभव प्राप्त व्यक्तिबाट दैनिक मार्ग निर्देशन पाइरहेका छौं । एफएमओ भनेको त्यहाँको सरकारको ५१ प्रतिशत शेयर रहेको कम्पनी हुनुको साथै अन्तरराष्ट्रिय संस्थाहरूबाट ट्रिपल ए रेटिङ कम्पनी पनि भएकोले विश्वभरिका बैङ्कहरूले पनि यसलाई त्यही रूपमा चिन्छन् । एनएमबीमा २० प्रतिशतको साझेदार भनेको ठूलो कुरा हो । यसकारण कुनै पनि विदेशी कम्पनीले नेपालमा काम गर्न चाहँदा कुनै न कुनै रूपमा सल्लाह लिने गरेका छन्, जसलाई हामीले ठूलो उपलब्धिको रूपमा लिएका छौं । अर्को प्राविधिक सहयोग हो, जसले एनएमबी बैङ्कको जनशक्ति विकासलगायत धेरै कुरामा सहयोग भइरहेको छ ।
बैङ्कले ८ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन अझै करीब साढे १ अर्ब रुपैयाँ बाँकी छ । जारी गरिने भनेको एफपीओ पनि धितोपत्र बोर्डले स्वीकृत दिएन । आरओई (रिटर्न अन इक्विटी) पनि घटेको देखिन्छ । अब कसरी पूँजी पुर्याउने प्रस्ताव अघि ल्याउनु भएको छ ?
राष्ट्र बैङ्कले दिएको समयसीमाभित्र हामीले चुक्तापूँजी पुर्याउँछौं । कसरी पुर्याउने भन्ने विषयमा हामी आन्तरिक छलफलमा छौं । अब आउने ब्यालेन्स सिटमा त्यो कुरा उल्लेख हुन्छ । यो हामी चाँडै नै सार्वजनिक गर्छौं ।
अन्तरराष्ट्रिय क्षेत्रमा भएका ट्रेजरीसम्बन्धी प्रोडक्ट, डेरिभेटिभसम्बन्धी प्रडक्ट (जुन नेपालमा अझै हुन सकिरहेको छैन) ल्याउनेबारे के भइरहेको छ ?
अब नेपालको बैङ्किङ क्षेत्रलाई बाहिरको बजारमा सजिलैसँग पुर्याउनु पर्छ भन्ने हाम्रो धारणा हो । नेपाली बैङ्किङ क्षेत्रमा यसअघि कहिले तरलता कम हुने कहिले बढी हुने उत्तारचढाव देखिएकै हो । तरलताको समस्याले गर्दा यस विषयमा मध्यकालीन तथा दीर्घकालीन योजना बनाएर अघि बढ्न अलि समस्या देखिएको छ । हामीले अन्तरराष्ट्रिय बजारमा पहुँच पुर्याउनासाथ यो सहज हुन पनि सक्छ । बाहिरबाट डिपोजिट ल्याउन सक्ने अवस्था भयो भने सहज हुन्छ । यसका लागि रेगुलेटरी क्लियरेन्सको कुरा होला । प्रडक्ट ल्याउने कुराभन्दा पनि त्यसबारे उपभोक्ताबीच जनचेतना अभिवृद्धि गर्नु पर्यो, प्रयोग गर्नु पर्यो । तर समग्रमा बजारको माग कम छ । विस्तारै बजार विकास हुँदै गएपछि ती प्रडक्टहरू ल्याउन समस्या छैन । तैपनि हाम्रो तर्फबाट प्रयास जारी छ ।
मुलुकमा चुनावी चहलपहल भइरहेको छ । चुनावमा पार्टीहरूले करोडौं रुपैयाँ खर्च गरेका छन् । यसले बैङ्कको निक्षेप सङ्कलन तथा कर्जा प्रवाहमा कस्तो प्रभाव पारेको छ ?
हो, हामीले पनि के अपेक्षा गरेका थियौं भने आर्थिक अवस्था पनि गतिशील होला र सबै रकम बैङ्किङ प्रणालीमा आउला । पहिले पहिलेका निर्वाचन हेर्यौं भने पनि निर्वाचनको समयमा अर्थतन्त्र वृद्धि भएको देखिन्छ । यो हिसाबले अहिले पनि अर्थतन्त्र गतिशील हुन्छ भन्ने अपेक्षा हो । बाहिर छरिएर रहेको केही रकम बैङ्किङ प्रणालीमा आउने जुन अपेक्षा थियो, त्यो अनुरूप नभएको जस्तो देखिन्छ । एक हप्ता अगाडिसम्म त्यस्तो खालको डिपोजिटको अवस्था देखिएको छैन । तर, केही रूपमा बैङ्किङ प्रक्रियामा आउने कोसिस गरेको जस्तो देखिएको छ, केही समयमा आउने अपेक्षा गरिएको छ । अर्को कुरा यो चुनाव नेपालको इतिहासमै ठूलो निर्वाचनको रूपमा रहेको छ । सरकारले समेत यसका लागि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । प्रदेशसभा र सङ्घीय संसद्का लागि निर्वाचन हुँदै छ, यो रकम क्रमशः बैङ्किङ प्रणालीमा आउँछ भन्ने हाम्रो अपेक्षा हो । कर्जाको माग राम्रै छ, अहिले साना–साना कर्जामा गएका छौं । बीचमा केही समय ब्याजदर माथि भएकोले कर्जाको माग घटेको थियो । अब हामी रिटेलमा पनि कर्जाको माग सम्बोधन गरेका छौं । अब २/४ हप्तासम्म चुनावी चहलपहल छ, त्यसले प्रभाव पार्ला, त्यसपछि चाहिँ कर्जाको माग बढ्ला ।
नेपाल राष्ट्र बैङ्कले ब्याजदर करिडोरसम्बन्धी कार्यविधि २०७४ जारी गरेको छ । यसले बैङ्किङ प्रणालीमा कस्तो प्रभाव पार्न थालेको छ ?
नेपाल राष्ट्र बैङ्कको ब्याजदर करिडोर प्रणालीले राम्रो व्यवस्था गरेको छ । धेरै पहिलादेखि यसमा छलफल भइरहेको छ । यस नीतिले २/३ ओटा विषयमा प्रभाव पार्ने देखिएको छ । बचत, निक्षेप, कर्जा तथा ब्याजदर मूल्यलाई स्थिर राख्न मद्दत गर्छ । बैङ्कहरूमा हुने उत्तारचढावलाई केही मात्रामा भए पनि नियन्त्रण गर्न सहयोग गर्नेछ । राष्ट्र बैङ्कको ओपन मार्केट अपरेशनलाई प्रभावकारी रूपमा अघि बढाउन सके नेपालको ब्याजदरको बजारलाई यसले दीर्घकालीन रूपमा ठूलो मद्दत गर्छ । यसले कहिले निकैमाथि जाने कहिले तल झर्ने ब्याजदरको उतारचढावलाई नियन्त्रण गर्छ । राष्ट्र बैङ्कले तोकेको मापदण्ड तथा नीतिमा सबैले काम गर्दा बैङ्किङ क्षेत्रमा सकारात्मक प्रभाव पार्छ ।
बैङ्कले ऊर्जा, कृषि, लघुवित्तलगायतका परियोजनामा लगानी र काम के कस्ता चरणमा पुगेका छन् ?
लघुवित्तमा हाम्रो सहायक कम्पनी एनएमबी माइक्रो फाइनान्स छ । सोही कम्पनीमार्फत हामीले शाखा कार्यालयहरू खोलिरहेका छौं । यसबाट हामीले विभिन्न क्षेत्रमा ६३ ओटा शाखा विस्तार गरेका छौं । हामीले आफ्नै क्षेत्रमा पनि लघुवित्तमा सक्रिय रूपमा लागिपरेका छौँ । नयाँ–नयाँ स्थानमा हामी पुगेका छौं । अहिले ५१ जिल्लामा छौं । ८/९ महीनामा २०/२५ ओटा शाखा खोलेका छौं । यस्तै, थप शाखा विस्तार गर्दै १५/१६ ओटा शाखा स्थानीय तहमा खोल्ने क्रममा छौं । लघुवित्त, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा हाम्रो लक्ष्यअनुसार अघि बढाएका छौं । अहिले हामी ५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा पनि स्वीकृृृत गर्ने गरी काम गरिरहेका छौं । यसले अझै बैङ्क बाहिर रहेकालाई सेवा पाउन मद्दत गर्छ । साना र छरिएर रहेको लगानीलाई प्रोत्साहन गर्ने हो । ससाना उद्योग तथा व्यवसायका लागि आवश्यक पर्ने कर्जाको व्यवस्थाका लागि हामीले गृहकार्य गरेका छौं ।
एनएमबी बैङ्कको भावी योजना के छ ?
‘एनएमबी बैङ्क, समृद्ध नेपालका लागि’ भन्ने नाराका साथ हामी अघि बढेका छौं । हामीले देशका कुना–कुनाबाट ल्याएको पूँजीलाई एकीकृत गरी लगानी गरेका छौं, हो त्यसले नेपालको आर्थिक तथा सामाजिक विकास प्रत्यक्ष प्रभाव पार्ने गरी ती क्षेत्रमा काम गर्छाैं । ठूला पूर्वाधारका क्षेत्रदेखि साना लगानी, महिला उद्यमीका साथै कृषिमा पनि हाम्रो कर्जा प्रवाह भएको छ । हामीले रू. ५ हजारदेखि ५ अर्बसम्म ऋण दिएका छौं । नेपालको विकास गर्ने क्षेत्र हाइड्रो, सिमेण्ट उद्योग, पर्यटनमा कर्जा प्रवाह गर्ने गरेका छौं । नेपालको समृद्धिका लागि विभिन्न क्षेत्रहरू पहिचान गरेका छौं । हामीले क्षेत्र निर्धारण गरेर लगानी गरिरहेका छौं । जस्तै, ऊर्जामा लगानी गरेका छौं । ऊर्जा नेपालमा मात्रै नभई बाहिर निर्यात पनि हुन सक्छ । यसले आयातमा न्यूनीकरण गर्ने काम गर्छ । साथै सिमेण्टमा पनि कर्जा दिने गरेका छौं । यसले भारतबाट भएको आयात न्यूनीकरण गर्छ । निम्नवर्गमा उद्यमशीलताको विकास गर्नका लागि पनि हामी सक्रिय छौं ।