
मङ्सिर १८, काठमाडौं । अनामनगर स्थित महालेखा परीक्षकको कार्यालय भवनको शिलान्यास गरिएको छ । सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले भवनको शिलान्यास गरेकी हुन् । रू. ५४ करोड ३२ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवन निजी निर्माण कम्पनी लुम्बिनी, गौरी पार्वती र शान्ति जेवीले आगामी तीन वर्षभित्र नर्माण सम्पन्न गरी सक्ने गरी ठेक्का पाएका छन् ।
लामो समयदेखि बबरमहलमा रहेको सो कार्यालयको ऐतिहासिक भवनलाई २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि नयाँ भवन निर्माण हुन लागेको हो । दश रोपनी १३ आना जमिनमध्ये सात रोपनी जमिनमा अत्याधुनिक साततले भवन बन्नेछ । जमिनमुनि दुई र जमिनमाथि पाँचलले भवन निर्माणको अनुगमन शहरी विकास तथा भवन निर्माण विभागले गर्नेछ । निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न भएमा लाभांशको समेत व्यवस्था गरिएको छ । भवन नेपाली मौलिक कलात्मक शैलीमा अपांगमैत्री, भूकम्प प्रतिरोधी तयार हुनेछ महालेखा परीक्षक कार्यालयले जनाएको छ ।
भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले एकातर्फ विकास निर्माणमा विनियोजित बजेट खर्च नहुने अवस्था आउनु र अर्काेतर्फ बेरुजु बढ्दै जाने स्थितिलाई अन्त्य गर्न आवश्यक रहेकामा जोड दिइन् । आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न महालेखा परीक्षकको कार्यालयले अझ ध्यान दिनुपर्ने भन्दै उनले संविधानले महालेखा परीक्षकको कार्यालयलाई निर्दिष्ट गरेका प्रावधानलाई कार्यान्वयन उतार्न आग्रह गरिन् । सरकारी अनुदान प्राप्त संघ, संस्था तथा गैरसरकारी संस्थाका आर्थिक कारोबारलाई पनि चुस्त र दुरुस्त बनाउन सबैको ध्यान जानु जरुरी रहेको राष्ट्रपति भण्डारीले बताएन् ।
सो अवसरमा महालेखा परीक्षक टंकमणि शर्मा दङ्गालले भवन निर्माणका बारेमा जानकारी दिँदै सार्वजनिक निकायको वर्षेनी बेरुजु बढ्दै जाँदा हाल रू. चार अर्ब पुगेको बताए । आफू महालेखा परीक्षकमा नियुक्त भएपछि छ वर्षे कार्ययोजना सार्वजनिक गरेको र कार्ययोजनाअनुसार कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार गर्दै यस वर्षदेखि स्थानीय निकायको समेत लेखापरीक्षण शुरु भएको उनले जानकारी दिए । रासस




