
पछिल्लो समय वैज्ञानिकहरू पृथ्वीभन्दा बाहिर पनि मानव जीवन रहेको वा नरहेको भन्ने कुराको पुष्टि गर्ने प्रयासमा लागेका छन् । यसै क्रममा वैज्ञानिकहरूले मानव जीवन रहेको अनुमान गरिएको लुएटिन्स ग्रहमा केही सङ्केतहरू पठाएका छन् । यो सङ्केत उक्त ग्रहमा अबको १२ वर्षमा पुग्ने अनुमान गरिएको छ ।
यदि उक्त ग्रहमा एलियनहरू रहेको भएमा त्यहाँबाट आवाज आउन २५ वर्षसम्म लाग्न सक्ने देखिएको हो । १२ प्रकाश वर्ष टाढा रहेको यो ग्रहमा वैज्ञानिकहरूले पठाएको सन्देशअनुसारको जवाफ सन् २०४२ सम्म आउने बताइएको छ । यो सन्देश सन् २०१८ को सोनार पर्वको एक भागको रूपमा रहेको बताइएको छ । उक्त उत्सवमा ३३ प्रकारका सङ्गीतहरू समावेश गरिएको छ ।यो उत्सवका निर्देशक रिचार्ड रोबल्सले यो सन्देशको माध्यमबाट मानिस र एलियनको बीचमा कुराकानी गर्न सहयोग पुग्ने बताइएको छ । पृथ्वीमा मात्रै मानिसको अस्तित्व छ कि अन्य कुनै ग्रहमा पनि मानिस छन् भन्ने कुराको पनि यसले पुष्टि गर्ने बताइएको छ ।
यद्यपि, केहीले भने यस किसिमको सन्देश पठाउनु उनीहरू निकै आक्रामक रहेको अवस्थामा भने निकै जोखीमपूर्ण हुन सक्ने बताएका छन् । यो ग्रहका एलियनहरू शक्तिशाली रहेको र उनीहरूले मानिसमाथि आक्रमण पनि गर्न सक्ने भन्दै केही वैज्ञानिकले आशंका व्यक्त गरेका हुन् । रेडियो तरङ्गको माध्यमबाट पठाइएको सन्देश अन्तरिक्षमा १ दशकसम्म रहनेछ ।




