
प्रमुख गतिविधि
आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा वाणिज्यहरूमध्ये सबैभन्दा धेरै खुद मुनाफा कमाउन नेपाल बैङ्क लिमिटेड सफल भएको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- बैङ्कले यस आवको पहिलो त्रैमाससम्ममा ९७ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७ प्रतिशत कम रहेको छ ।
- पूँजी वृद्धिसँगै बैङ्कको प्रतिशेयर आम्दानी घट्न पुगेको छ । यो अवधिमा पूँजी २४ प्रतिशत वृद्धि भएकोे छ भने प्रतिशेयर आम्दानी (वार्षिक) ७१ रुपैयाँ ७६ पैसाबाट घटेर ४८ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
- गतवर्षको मुनाफा र आफ्नो स्वामित्वमा रहेका विभिन्न कम्पनीका शेयर तथा अन्य सम्पत्ति विक्री गरी आफ्नो जगेडा कोषको आकार निरन्तर रूपमा मजबूत बनाउँदै लागेको छ । हालसम्म कम्पनीले जगेडा कोषमा ४ अर्ब ७५ करोड रुपैयाँ सञ्चित गरेको छ ।
- निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा ९२ अर्ब ७२ करोड निक्षेप उठाएर ७३ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको छ ।
- निक्षेप ८ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह १२ प्रतिशत वृद्धि भएको छ ।
- खुद ब्याज आम्दानी १९ प्रतिशत वृद्धि भएर १ अर्ब ३९ करोड करोड पुगेको छ, जसमा कम्पनीले २२ करोड ९९ लाख रुपैयाँ खराब कर्जाको प्रोभिजनका लागि छुट्याएको छ ।
- सञ्चालन नाफा ५२ प्रतिशत वृद्धि भएर ७२ करोड ८२ लाख पुगेको छ । जोखीम कोषबाट २९ करोड २९ लाख रुपैयाँ फिर्ता भएको देखिन्छ ।
- निष्क्रिय कर्जा थोरै मात्रामा वृद्धि भएर ३ दशमलव ४२ प्रतिशत छ भने निष्क्रिय कर्जाका लागि ९९ दशमलव २७ प्रतिशत रकम व्यवस्था गरेको छ ।
- पूँजी कोषको लागत १ दशमलव ८८ प्रतिशतबाट वृद्धि भएर २ दशमलव ७७ प्रतिशत पुगेको छ, जुन अन्य समकक्षी वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा कम रहेकाले उसले कर्जा तथा निक्षेपको आकार बढाउँदा पनि ब्याज खर्चको आकार अन्य बैङ्कको जस्तोगरी बढेको छैन ।
- बैङ्कले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी ४८ दशमलव ३२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ५९ दशमलव १८ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ५९ प्रतिशत छ ।
निष्कर्ष
समीक्षा अवधिमा गैरबैङ्किङ क्रियाकलापबाट हुने आम्दानी ठूलो मात्रामा घटेको छ । यद्यपि, सम्भावित जोखीमका लागि छुट्याउने रकमको आकार बढ्दा बैङ्कको सञ्चालन मुनाफा सुधार आएको छ । यो कम्पनीको सबल पक्षको रूपमा रहेको छ । अहिले राइट ब्याकको आकार बढेको हुनाले खुद मुनाफामा थोरै कमी देखिए तापनि भविष्यमा आक्रामक रूपमा बैङ्किङ क्रियाकलापबाट आफ्नो खुद मुनाफा वृद्धि गर्दै लैजानुपर्ने चुनौती थपिएको देखिन्छ ।
प्राविधिक विश्लेषण : नेपाल बैङ्कको शेयरमा माग बढ्दै

प्रतिरोध २ : ३९० । प्रतिरोध १ : ३८० । अन्तिम कारोबार मूल्य : ३५४ । टेवा १ : ३४० । टेवा २ : ३३०
बजारको अवस्था
८ नेपाल बैङ्कको शेयरमूल्य केही महीनायता प्रवृत्तिहीन अवस्थामा रहेको छ । २ महीनाअघि कम्पनीको शेयरमा खरीदकर्ताको चाप देखिएको थियो । करीब २ महीनाअगाडि ३ सय ३६ रुपैयाँतिर कारोबार हुँदै आएको शेयरमूल्य त्यसको १ महीनापछि भने ३ सय ८१ रुपैयाँसम्म कारोबार भएको थियो । सोमवार यस बैङ्कको शेयरमूल्य ४ रुपैयाँ अर्थात् १ दशमलव १४ प्रतिशत बढेर ३ सय ५४ रुपैयाँमा बन्द भएको छ भने २७ हजार १ सय ८२ कित्ता शेयर कारोबार भएको छ ।
मुभिङ एभरेज
५ दिने मुभिङ एभरेजअनुसार यस बैङ्कको शेयरमूल्य बढ्दो प्रवृत्तिमा रहेको छ भने २१ दिने मुभिङ एभरेजअनुसार यस बैङ्कको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाएको छ ।
एडीएक्स
एडीएक्स सूचकअनुसार यस बैङ्कको शेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको छ ।
एटीआर
एटीआर सूचक घट्दो प्रवृत्तिमा रहेको हुनाले यस बैङ्कको शेयरमूल्यमा उतारचढाव घट्दै गएको बुझाउँछ ।
स्टोकास्टिक
स्टोकास्टिक सूचक बढ्दो प्रवृत्तिमा रहेको हुनाले खरीदकर्ताको चाप बढ्दै गएको बुझाउँछ ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकले यस कम्पनीको शेयरमूल्यको दिशाको बारेमा मिश्रित जानकारी दिएको हुनाले प्रस्ट सङ्केत नगरेसम्म ‘पर्ख र हेर’को रणनीति अपनाउनुपर्ने देखिन्छ ।











