
प्रमुख गतिविधि
कृषि विकास बैङ्कले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस र शेयर कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश राष्ट्र बैङ्क र साधारणसभाबाट पारित हुन बाँकी छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- बैङ्कको पहिलो त्रैमाससम्म आइपुग्दा खुद ब्याज आम्दानीमा आएको कमीसँगै खुद मुनाफामा पनि १४ प्रतिशत कमी आएको छ । कम्पनी यो त्रैमासमा ३६ करोड ३९ लाख खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष उसले ४२ करोड २३ लाख खुद मुनाफा कमाएको थियो ।
- जगेडा कोषमा १६ प्रतिशतको वृद्धि भएको छ । कोषमा अहिले १० अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
- पूँजी वृद्धि र खुद मुनाफामा आएको कमीसँगै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न कम्पनीलाई कठिन परेको देखिन्छ । यो त्रैमासमा उसको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ३७ पैसाबाट घटेर १५ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
- निक्षेप र कर्जाको कुरा गर्दा उसले यो पहिलो त्रैमासमा ९९ अर्ब ३० करोड निक्षेप उठाई ८८ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ ।
- निक्षेप १६ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह ९ प्रतिशत वृद्धि भएको छ ।
- मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी २९ प्रतिशत घटेर १ अर्ब १४ करोड पुगेको छ ।
- सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा १२३ प्रतिशत घटेर ६ करोड ८७ लाख ऋणात्मक भएको छ । आम्दानीमा ५७ करोड ४९ लाख प्रोभिजन घट्न पुग्यो भने जोखीम कोषबाट ४८ करोड ८५ लाख फिर्ता भयो ।
- निष्क्रिय कर्जामा केही कमी ल्याएको छ । यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ८३ प्रतिशतबाट घटेर ३ दशमलव ५४ प्रतिशतमा आएको छ ।
- ब्याज दर वृद्धिका कारण बैङ्कको कोषको लागत भने वृद्धि भएको छ । कम्पनीको पूँजी कोष लागत ४ दशमलव १० प्रतिशतबाट वृद्धि भएर ७ दशमलव शून्य ६ पुगेको छ भने ब्याज स्प्रेड दर ४ दशमलव ६५ प्रतिशत रहेको छ ।
- बैङ्कले प्रकाशन गरेकोे वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ २ सय ४३ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ७५ प्रतिशत रहेको छ ।

निष्कर्ष :
बैङ्कको प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानीमा २९ प्रतिशतको कमी आउँदा नाफा घट्न पुग्यो । यसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा कमी आयो ।
प्राविधिक विश्लेषण : कृषि बिकास बैङ्क घट्दो च्यानलमा सीमित

प्रतिरोध २ : ४४३ । प्रतिरोध १ : ४२८ । हालको अन्तिम मूल्य : ४२५ । टेवा १ : ४१६ । टेवा २ : ४००
बजारको अवस्था
यस कम्पनीको ८ जनवरी, २०१८ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य ४ सय २५ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा २ रुपैयाँ अर्थात् शून्य दशमलव ४७ प्रतिशत बढी हो । अन्तिम दिनको परिमाण ८ हजार ३ सय ८९ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा ९ हजार ६ सय ६२ कित्ता कम हो ।
मूल्यको प्रवृत्ति विश्लेषण
१८ जुलाई, २०१७ मा मूल्यले ४ सय ७२ को उच्च बिन्दु प्राप्त गरे पनि त्यसपछिका माथिल्ला र तल्ला बिन्दुहरू घट्दो प्रवृत्तिको भएकोले बजार घट्दो प्रवृत्तिमा रहेको र यसको उतारचढाव घट्दो च्यानलमा सीमित रहेको देखिन्छ । हाल मूल्य ४ सय २८ को प्रतिरोध क्षेत्रमा रहेको छ ।
अन्य प्राविधिक सङ्केतहरू
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : १०० दिनको ईएमएभन्दा मूल्यको प्रवृत्ति तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको र हाल यो ईएमए प्रतिरोधको रूपमा रहेको देखिन्छ ।
रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ५२ अङ्कमा रहेको छ । यसको प्रवृत्ति हेर्दा बजार केही सकारात्मक रहेको देखिन्छ ।
मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले लङलेग्ड डोजी आकृति बनाएको देखिन्छ । यसले त्यस दिन क्रेता र विक्रेताको चाप बराबर रहेको सङ्केत गरे तापनि गत ७ दिनको मैनबत्तीलाई समग्र रूपमा हेर्ने हो भने बजार सकारात्मक क्षेत्रमा रहेको देखिन्छ ।
निष्कर्ष
उल्लिखित मूल्यको प्रवृत्ति र सूचकहरूको आधारमा बजार विश्लेषण गर्दा बजार घट्दो प्रवृत्तिमा रहे पनि पछिल्लो समयमा मूल्य वृद्धि भएको छ । यदि मूल्य ४ सय ४३ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने सङ्केत गर्दछ र अर्को तत्कालीन प्रतिरोध ४ सय ५८ मा रहेको देखिन्छ । यदि मूल्य ४ सय १६ भन्दा तल रहेमा बजार नकारात्मक हुन सक्ने सङ्केत गर्दछ ।











