कास्की । पोखराको चोरसाँघुस्थित सेती नदीमाथि बनेको पक्की पुल सञ्चालनमा आएको छ । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीले सोमवार उक्त पुलको उद्घाटन गरेका हुन् । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको १ करोड ६० लाख ८९ हजार लागतमा पुलको निर्माण गरिएको थियो ।
यो पुलले पोखरा लेखनाथ महानगरपालिकाका वडा नम्बर ७ र १५ लाई जोडेको छ । २९ दशमलव ९ मिटर लम्बाइ र ७ मिटर चौडाइ रहेको उक्त पुल निर्माणमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको ७० प्रतिशत र जिल्ला समन्वय समिति कास्कीको ३० प्रतिशत लागत छ । पुल निर्माणपछि महानगरपालिकाका वडा नं ७, ९, १४, १५ र १७ का स्थानीयलाई आवतजावतमा सुविधा पुगेको छ । यस क्षेत्रमा पक्की पुल नहुँदा सेती नदीमाथि अस्थायी बनाएर जोखीमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । सो क्रममा नदीमा खसेर केहीको मृत्युसमेत भएको थियो ।
नवनिर्मित पुलको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य अधिकारीले निर्वाचनमा जनताले मुलुकको विकास र समृद्धिलाई अगाडि बढाउन वाम गठबन्धनलाई जनादेश दिएको बताए । जनताको आवश्यकता र विकासको चाहनालाई ध्यानमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा उनले जोड दिए । यस्तै, प्रदेशसभा सदस्य कृष्ण थापाले राजनीतिक क्रान्ति सकिएकाले अब विकास र आर्थिक समृद्धिको युग शुरू भएको बताए ।




