रूपन्देही । बुटवलको सडक (राजमार्ग चौराहा–गोलपार्क) विस्तारविरुद्धको मुद्दा अदालतमा विचाराधीन हुँदा ठेकेदार कम्पनी ७ महीनादेखि कामविहीन भएको छ । सडक विस्तारको जिम्मा लिएको द कञ्चनजङ्घा बिरुवा जेभी कन्ष्ट्रक्शन प्रालि, काठमाडौंले आफूहरूलाई काम गर्ने अनुमति दिन माग गर्दै पाँचपटकसम्म बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार परियोजना, मणिग्राममा पत्राचार गरिसकेको छ ।
बुटवलका ४२ जना घरधनीले आफूहरूका घर ‘नभत्काई पाऊँ’ भन्दै ५ महीनाअगाडि उच्च अदालत तुलसीपुर इजलाश बुटवलमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको अन्तिम किनारा नलागेका कारण परियोजनाले ठेकेदार कम्पनीलाई काम गर्ने अनुमति दिन नसकेको हो । कन्ष्ट्रक्शन प्रालिका प्रबन्धक प्रेम भाटले आफूहरू ७ महीनादेखि काम गर्ने तयारी अवस्थामा रहे पनि परियोजनाले स्वीकृति नदिँदा लागत बढ्ने अवस्थामा पुगेको बताए । ‘उपकरणदेखि कामदारहरू तयारी अवस्थामा छन् । उनीहरूलाई अन्य कम्पनीले गरिरहेका काममा जान पनि दिएको छै । यहाँ काम पनि शुरू भएन,’ उनले भने, ‘उनीहरूलाई विनाकाम रकम भुक्तानी गर्नुपर्ने बाध्यता छ ।’
बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले सडकको बीचबाट ८२ फीटभित्र पर्ने दायाँ र बायाँका ३ सय ११ घर भत्काउनुपर्ने अवस्थामा रहेको बताएको छ । चौराहादेखि चिडियाखोलासम्म करीब ३ किलोमिटर छ । ४ लेनमा रहेको यो सडक विस्तार गरी ६ लेनको बनाउने गरी परियोजनाले कञ्चनजङ्घासँग ४० करोड रुपैयाँमा वैशाखमा ठेक्का सम्झौता गरेको हो । जेभी कन्ष्ट्रक्शनले पेश्कीस्वरूप ४ करोड रुपैयाँ परियोजनासँग लिइसकेको छ ।
परियोजनाका इञ्जिनीयर गोविन्द श्रेष्ठले अदालतले अन्तिम फैसला गर्ने मिति लम्ब्याउँदै जाँदा काम शुरू हुन नसकेको बताए । शुरूमा सडक क्षेत्राधिकारभित्र पर्ने घरहरू ‘घरधनी आफैले भत्काउन’ समय दिइएको थियो । त्यसपछि अदालतमा मुद्दा दायर भएपछि काम रोकिन पुगेको हो । अहिले कायम रहेको सडकको दायाँबायाँ ‘सर्भिस लेन’ थप गरिने योजना छ । त्यस्तै, अहिलेको सडकमा १० सेण्टिमिटर कङ्क्रिट थपिनेछ भने हाल रहेको नाली थप विस्तार हुनेछ । ६ मिटरको सर्भिस लेन र २ मिटरको फूटपाथ बन्नेछ ।




