पुस २६, काठमाडौं (अस) । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेई अमेरिकी क्यारियर कम्पनीसँग सम्झौता गर्न असफल भएको छ । अमेरिकी क्यारियर मार्फत कम्पनीको नयाँ स्मार्टफोन बेच्ने सम्झौता गर्न नसकिएको हुवावेईले बताएको छ । फल्गायशीप स्मार्टफोन मेट १० प्रोलाई अमेरिकी बचारमा बेच्न कम्पनीले अमेरिकी बहुराष्ट्रिय व्यापारीक समूह एटीएण्डटीसँग वार्ता गरिरहेको सुन्नमा आएको थियो । तर राष्ट्रिय सुरक्षा खतरामा पर्ने भन्दै सांसदहरुले यो सम्झौता हुन नदिएको व्यहोराको पत्र अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले हेरेको भन्दै बीबीसीले एक समाचारमा भनेको छ ।

पछिल्लो समय चिनियाँ कम्पनीहरुलाई अमेरिकामा व्यापार गर्न र व्यवसाय विस्तार निकै गाह्रो भइरहेको छ । हुवावेईको असफलता यसको नयाँ उदाहरण मात्रै हो । गत हप्ता अमेरिकाले मनी ट्रान्ससफर कम्पनी मनी ग्राम चिनियाँ अनलाइन कम्पनी अलिपापाको डिजिटल भुक्तानी एकाई एण्ट फाइनान्सियललाई विक्री गर्न प्रतिबन्ध लगाएको थियो । हुवावेईका प्रमुख कार्यकारी अधिकृत रिचर्ड युले लास भेगासमा चलिरहेको कञ्जुमर इलेक्ट्रोनिक्स शोमा अमेरिकी क्यारियरसँग टाइ–अपको योजना तुहिएको बताएका थिए ।
सम्झौता किन हुन सकेन भन्ने बारेमा भने युले केही बताएका छैनन् । अब मेट १० प्रो एमाजन लगायतका खुद्रा अनलाइन विक्रेता मार्फत मात्रै अमेरिकामा विक्री हुनेछ । दूरसञ्चार क्षेत्रमा चिनियाँ कम्पनीको संलग्नताले सुरक्षा खतरा बढ्ने व्यहोरासहितको एक पत्रमा हस्ताक्षर गरेर अमेरिकाको माथिल्लो सदन सिनेट र हाउस इन्टेलिजेन्स कमिटिका १८ जना सदस्यहरुले नियामकहरुलाई बुझाएका थिए । हुवावेई एप्पल र सामसुङपछि विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हो ।




