
रूपन्देही । रूपन्देही उद्योग सङ्घको शनिवार हुने ३९औं साधारणसभा तथा २०औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि उद्योगीमा चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचन कार्यक्रमअनुसार बुधवार उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन समितिका अनुसार तोकिएको समयमा सबै पदमा उम्मेदवारी दर्ता भएको छ, जसअनुसार अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी र सल्लाहकार सुनील श्रेष्ठको उम्मेदवारी परेको छ । यसैगरी, वरिष्ठ उपाध्यक्ष्यमा महेश थैव र बाबुराम बोहोराको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचन समितिका संयोजक यमलाल खनालका अनुसार प्रथम उपाध्यक्षमा माधवप्रसाद पौडल, कोषाध्यक्षमा शिवकुमार पाठक तथा सहकोषाध्यक्षमा हरिबहादुर खत्रीको एकल उम्मेदवारी परेको छ । यस्तै, द्वितीय उपाध्यक्षमा दिलीप सापकोटा र सावित्रा टण्डन, महासचिवमा कृष्णप्रसाद पराजुली र राजेन्द्र कार्की, सचिवमा जीवकान्त काफ्ले र कृष्णप्रसाद पौडेलको उम्मेदवारी परेको छ ।
तीन जना महिला सदस्यमा सरला भण्डारी, माया खनाल र रेनुका खरेलको मात्र उम्मेदवारी परेको छ । बुटवल औद्योगिक क्षेत्रतर्फ मोहनीलाल रिजाल, बुटवल उपमहानगरपालिकादेखि पूर्व क्षेत्रतर्फ रमेशचन्द्र रेग्मी तथा संस्थागत सदस्यतर्फ रुद्रबहादुर हमालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । समितिका अनुसार बुटवल उपमहानगरपालिकादेखि पश्चिम क्षेत्रको २ सदस्यतर्फ यमलाल भट्टराई र बालकृष्ण पराजुलीको मात्र उम्मेदवारी परेको छ ।
सेवामूलक सदस्यमा लालहरि पाण्डे र माधवप्रसाद नेपाल, सिद्धार्थनगर नगरपालिका क्षेत्रतर्फ यादव गैरे र नवलकिशोर सिंह, एशोसिएट सदस्य खुलातर्फ प्रयागलाल श्रेष्ठ र सुमन बस्याल, योगिकुटीदेखि पडसरीसम्मका क्षेत्रको सदस्यतर्फ प्रेमबहादुर आले, चन्द्रकान्त खनाल, रमेश पाण्डेय र विशाल वेल्वासेको उम्मेदवारी परेको छ ।
साधारण सदस्यमा खुलातर्फ ९ जनाका लागि १६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रवार हुनेछ । सङ्घमा ९ सय ८७ सदस्य छन् ।



