पुस २९, काठमाडौं (अस) । निर्धन उत्थान बैङ्क लिमिटेडबाट नाम परिर्वतन भएर निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । कम्पनीको शनिवार सेलिबे्रशन ब्याङ्क्वेटमा सम्पन्न भएको १९ औं साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीका अध्यक्ष गणेश बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सभाले ६६ दशमलव ६७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १४ दशमलव शून्य ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभाले लेखा परीक्षकमा श्री आर पराजुली एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टलाई नियुक्त गरी पारिश्रमिक रू. ५ लाख निर्धारण गरेको छ ।
बैङ्कको चुक्तापूँजी रू. ६० करोड रहेकोमा यस साधारणसभामा प्रस्तावित बोनश शेयर ६६ दशमलव ६७ प्रतिशतका दरले ४० करोड बोनश शेयर वितरण गर्न स्वीकृति अनुमोदन भएपछि बैङ्कको चुक्तापूँजी १ अर्ब पुगेको छ । बैङकले देशको सात वटै प्रदेशमा बसोबास गर्ने १५ लाख ७ हजार ६ सय ५५ जनसङ्ख्यालाई १ सय ७८ ओटा शाखाहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।
आगामी दिनहरूमा कार्यक्रमको गुणस्तर सुधार र बचत तथा निक्षेप वृद्धिमा केन्द्रीत भई नविनतम प्रविधिको प्रयोग तथा ग्राहकहरूलाई वित्तीय साक्षरताको माध्यमबाट क्षमता अभिवृद्धि गर्दै बदलिदो प्रतिस्पर्धात्मक बजारमा बैङकलाई अगाडि बढाउने कम्पनीले लक्ष्य लिएको छ । बैङ्कले तय गरेका लक्ष्यः
- ३० हजार ६ सय भन्दा बढी सदस्य थप गरी ३ लाख २७ हजार ग्राहकलाई सेवा पुर्याउने,
- सदस्य र ऋणीको अनुपात समीक्षा अवधिको ६९ प्रतिशतलाई वृद्धि गरी कम्तिमा ७० प्रतिशत पुर्याउने अर्थात कम्तिमा २ लाख २९ हजार ऋणी सङ्ख्या पुर्याउने,
- लगानीमा रहेको कर्जा रू. ३ अर्ब २५ करोड ६३ लाखले वृद्धि गरी १५ अर्ब ५८ करोड ४७ लाख पुर्याउने,
- बचत तथा निक्षेप रू. २ अर्ब ५ करोड २१ लाख वृद्धि गरी रू. ८ अर्ब २८ करोड २८ लाख पुर्याउने,
- ३० दिनभन्दा बढीको कर्जा जोखिम रकम ०.३९ प्रतिशतलाई घटाएर ०.२४ प्रतिशतमा ल्याउने, आदि ।
विपन्न गरीब परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर स्वर्गीय डा. हरिहरदेव पन्तको अग्रसरतामा वि.सं. २०४७ चैत्र १७ गते निर्धन (गैर सरकारी संस्था)को स्थापना भएको थियो । तर लघुवित्त गैर सरकारी संस्थाबाट दिगो रुपमा व्यापक तरिकाले सेवा प्रवाह गर्न नसक्ने अनुभव भएपछि मातृ संस्था निर्धनकै पहलबाट वि.सं. २०५५ कात्तिक १२ गते निर्धन उत्थान बैङ्क लिमिटेडको स्थापना भएको हो ।
बैङ्कले ग्रामीण क्षेत्रका विपन्न परिवारका महिलाहरुको आर्थिक, सामाजिक, जनचेतना विकासको लागि बिना धितो सामुहिक दायित्वमा कर्जा लगानी गर्दै आईरहेको छ । बैङकले आफना ग्राहक सदस्यहरुलाई लघुवित्त संस्थाहरुले प्रदान गर्दै आईरहेका मुख्य चार ओटा सेवाहरु कर्जा, बचत, बिमा र विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ । बैङकले आयआर्जन, उद्यमशीलता विकास तथा विस्तारको लागि, वैदेशिक रोजगार, शिक्षा, धारा, चर्पी, उर्जा अन्तर्गत बायो ग्याँस, सोलार, सुधारिएको चुल्हो, कृषि उत्पादन, सिंचाई, कृषि उपकरण, दुग्ध उत्पादन, बाली आदि जस्ता विभिन्न प्रयोजनको लागि बैंकले आफना ग्राहक सदस्यहरुलाई कर्जा प्रवाह गर्दै आई रहेको छ ।




