Latest posts by रोशन तिवारी (see all)
पुस ३०, पर्वत । चेतना र बैङ्क सेवाबारे जानकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिकहरु अझै पनि बैङ्कको पहुँचसम्म पुग्न नसकेको भन्दै एनआईसी एशिया बैङ्कले पर्वतका ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ ।

बैङ्कको कुश्मा शाखा र कास्की, नयाँपुल शाखाले मोदी गाउँपालिका–६, तिलाहारमा घरघरमै पुगेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । शनिवारबाट शुरु भएको कार्यक्रम एक हप्तासम्म चल्ने बताइएको छ ।
शनिवार मोदी गाँउपालिका–६, गाडतारा तथा गिज्यान गाउँमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको नयाँपुल शाखा प्रबन्धक प्रेमराज पौडेलले जानकारी दिए । गाडतारा तथा गिज्यानका झण्डै एक सय घरधुरीमा बैङ्कका कर्मचारी आफैँ पुगेर कर्जा तथा बचत, मोबाईल बैङ्किङ, ईन्टरनेट बैङ्किङ, शेयर आवेदनका लागि आस्वा प्रणाली, जीवन बीमा, ब्याजदर, खाता खोल्दा हुने फाईदालगायत बैङ्किङ सेवा सुविधाका बारेमा सचेतना प्रवाह गरेको शाखाका सेवा प्रबन्धक टंकनाथ लामिछानेले बताए ।
वाणिज्य बैङ्क घर दैलोमा आएर सचेतना कार्यक्रम सञ्चालन गरेकोमा स्थानीयले खुशी व्यक्त गरे । स्थानीय हरी सुवेदिले बैङ्कसम्म पुग्न नसकेका नागरिकलाई घर दैलोमै सेवा दिनु निकै सकरात्मक रहेको बताए । यसै वडाका वडाअध्यक्ष विमल लामिछानेले राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता प्रदान गर्न समेत बैङ्क जनताको घरदैलोसम्म जानुपर्ने धारण राखे । वित्तिय साक्षरता कक्षा चलाउन बैङ्कका क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्मा पनि सहभागी भएका थिए ।




