काठमाडौं (अस) । भिसा कार्डबाट वस्तु तथा सेवाको भुक्तानी गर्ने ग्राहकले आपूmले कारोबार गरेको रकमको २ देखि १० प्रतिशतसम्म फिर्ता पाउने भएका छन् । प्रत्येक ग्राहकले अस्पताल, होटल तथा रेष्टूराँ, सपिङ सेण्टरलगायत सेवा तथा वस्तुको भिसा कार्डबाट भुक्तानी गरेमा भोलिपल्टै ग्राहकको खातामा उक्त रकम फिर्ता हुने भएको हो । तर, ग्राहकले नगद नै भुक्तानी गर्दा भने यस्तो छूट पाउँदैनन् । तर, त्यसका लागि तोकिएका ११ ओटा बैङ्क तथा वित्तीय संस्थाको भिसा कार्डमार्पmत मात्र भुक्तानी गर्नुपर्ने हुन्छ । यो सुविधा अहिलेलाई माघ १ महीनाका लागि दिइनेछ । कारोबार सङ्ख्या माघ महीनाभर जोडिने बुझिएको छ ।
यस्तो सुविधा सेञ्चुरी, ग्लोबल आईएमई, कुमारी, मेगा, एनसीसी, नेपाल इन्भेष्टमेण्ट, राष्ट्रिय वाणिज्य बैङ्क, सानिमा, टुरिजम डेभलपमेण्ट, महालक्ष्मी र मुक्तिनाथ विकास बैङ्कका भिसा कार्ड प्रयोगकर्ताले मात्र पाउनेछन् । यो सुविधा नेपाल इन्भेष्टमेण्ट बैङ्कको नेतृत्वमा रहेको भिसा कार्ड सर्भिस प्रदायक ती बैङ्कहरूले ल्याएका हुन् ।

यो सुविधा देशभरका ४ हजार ५ सयओटा पोइण्ट अफ सेल (पीओएस, पोस)बाट प्राप्त गर्न सकिन्छ । त्यसमध्ये २ हजारओटा पल्स मेशिन नेपाल इन्भेष्टमेण्ट बैङ्ककोे नेटवर्कमा आबद्ध छन् । यसअघि दशैं, तिहार तथा छठलाई लक्षित गरी करीब ५ महीनासम्म यस्तो सुविधा उपलब्ध गराइएको थियो । योजनाबाट खरीदकर्ताको सङ्ख्या ५२ प्रतिशत बढेको पाइएपछि यसलाई पुनः बजारमा ल्याएको बताएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैङ्ककी कार्ड सेण्टर प्रमुख रीना चन्दका अनुसार एटीएमबाट पैसा निकाली पर्समा राखेर खर्च गर्ने प्रवृत्तिलाई दुरुत्साहन गर्न यो योजना ल्याइएको हो ।
नेपालमा भिसा कार्ड होल्डर
हाल मुलुकभर भिसा कार्ड प्रयोग गर्नेको सङ्ख्या सबै बैङ्क तथा वित्तीय संस्थामा गरी ५६ लाख रहेका छन् । त्यसमध्ये नेपाल इन्भेष्टमेण्ट बैङ्कको सञ्जालमा मात्र करीब १६ लाख ग्राहक रहेको बताइएको छ । नगद कारोबार गर्ने प्रवृत्तिलाई कम गर्दै लैजान यो सुविधा प्रभावकारी हुने बैङ्कहरूको विश्वास छ ।




