माघ १, धनकुटा । उन्नत जातका गाईपालनमा किसानको आकर्षण बढेसँगै धनकुटा जिल्लामा दुध उत्पादनमा वृद्धि भएको छ ।
जिल्लामा यसवर्ष अहिलेसम्म रू. २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्क छ । गतवर्ष १२ हजार मेट्रिक टन दूध उत्पादन भएकामा यसवर्ष १३ हजार ८३ मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाका विभिन्न क्षेत्रबाट दैनिक रू. १६ लाख ६५ हजार बराबरको ३७ मेट्रिक टनभन्दा बढी दूध उत्पादन हुने गरेको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि अम्रिसो, नेवारो, टाँकी, पट्मेरो, दुधिलोलगायत उन्नत जातका घाँस रोपेर व्यावसायिकरुपमा उन्नत जातका गाई र भैँसी पालेका कारण दूधबाट पर्याप्त आम्दानी हुन थालेको महालक्ष्मी नगरपालिका–४ का चेतन कार्कीले बताउँछन् ।
उनले दूध विक्री गरेर वार्षिक रू. तीन लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । जिल्लाका किसानले गतवर्ष प्रतिलिटर रू. ४० मा विक्री गरेको दूधको मूल्य यस वर्ष प्रतिलिटर रू. पाँचले वृद्धि भएको छ ।
कूल उत्पादनको ४० प्रतिशत दूध जिल्लामा खपत हुन्छ भने बाँकी दूध अन्य जिल्लामा विक्रीका लागि पठाउने गरिएको छ । जिल्लामा २३ ओटा व्यावसायिक गाईपालन केन्द्र र घरघरमा पालेका गाईभैँसीबाट मासिक एक लाख लिटरभन्दा बढी दूध उत्पादन हुने गरको छ ।
जिल्लाका धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका दुग्ध उत्पादन पकेट क्षेत्रका रुपमा रहेका छन् । यता जिल्लाका चिस्यान केन्द्रमा छिमेकी जिल्ला तेह्रथुमका केही गाउँपालिकाबाट समेत दूध सङ्कलन हुने गरेको छ । जिल्लाका चिस्यान केन्द्रमा सङ्कलन भएको दूध सुनसरीको कामधेनु दुग्ध सङ्कलन संस्था तरहरा र दुग्ध विकास संस्थान विराटनगर पठाइने गरेको चिस्यान केन्द्रले बताएको छ । रासस




