माघ २, नुवाकोट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नुवाकोटमा तरकारी जोन कार्यालय स्थापना गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयमा तरकारी जोन कार्यालय स्थापना गरिएको हो । सो कार्यालयको जिम्मेवारी वरिष्ठ कृषि विकास अधिकृत डा. कमलराज गैरेलाई सुम्पिइएको छ ।
आव २०७३/७४ देखि शुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरणको १० वर्षे परियोजनाअन्तर्गत नयाँ स्थापना भएको तरकारी जोन कार्यक्रममा नुवाकोटका चारओटा स्थानीय तहका १५ वडा छनोट गरी कार्यक्रम सञ्चालन गर्न लागिएको गैरेले बताए ।
सो परियोजनामार्फत ककनी गाउँपालिकाको वडा नंं १ देखि ७ सम्म, शिवपुरी गाउँपालिका वडा नं ६, ७ र ८, पञ्चकन्या गाउँपालिका वडा नं ३, ४ र ५ तथा दुप्चेश्वर गाउँपालिका वडा नंं ३ र ५ छनोट भएका छन् ।
छनोट क्षेत्रभित्रका किसान, कृषक समूह, कृषि फार्म, कृषि सहकारी संस्था, कृषिसम्बन्धी जल उपभोक्ता समितिले सञ्चालन गर्दै आएको तथा अब व्यावसायिक तरकारी खेती गर्न चाहेमा कार्यालयमा सूचीकृत गरी परियोजनाले प्रवाह गर्ने सेवा उपभोग गर्न सक्ने मापदण्ड रहेको छ ।
तरकारी खेती गर्दै आएका तथा गर्न चाहेका किसानलाई मापदण्डअनुसार खेती गरेमा परियोजनाले उपलब्ध गराउने सेवाका लागि सूचीकृत गर्न अर्को सातादेखि आवेदन सङ्कलन गर्ने जोन कार्यालयले तयारी गरेको छ ।
सूचीकृत सदस्यबाट तरकारी जोन परियोजना सञ्चालन गर्न नौ सदस्यीय व्यवस्थापन समिति गठन गरी मागअनुसार सेवा उपलब्ध गराइनेछ । जोन प्रमुख गैरेका अनुसार परियोजनामार्फत सूचीकृत सदस्यलाई तरकारी खेतीमार्फत तरकारीको बीउ र उचित मूल्यसहितको बजारीकरण मुख्य प्राथमिकतामा राखिएको छ ।
जोन कार्यक्रमअन्तर्गत मसलाबाली (अदुवा, बेसार, अलैँचीलगायत) बाहेक तरकारी खेतीको व्यवसायीकरण र आधुनिकीकरणका लागि परियोजनामार्फत सेवा र सुविधा उपभोग गर्न पाउने व्यवस्था छ । उन्नत जातका तरकारीको बीउ, बेर्ना, मलखाद्य, तालिम, अनुदान तथा सहुलियत दरमा कृषि औजार एवम् उपकरण, तरकारी बजारीकरणका लागि सवारी साधन, चिस्यानकेन्द्र लगायतको व्यवस्था रहेको छ ।
कार्यक्रम सञ्चालनपश्चात् किसानले अहिले उत्पादन गर्दै आएको तरकारीको उत्पादन १० प्रतिशत वृद्धि गरेमा अनुदान उपलब्ध गराइने गैरेले बताए ।
‘किसानको सक्रियता, लगनशीलता, जागरुकता र उपलब्धिको आधारमा छनोट हुन्छ ।’ उनले भने, ‘कार्यक्रमको सफलता र असफलता किसानसँग जोडिएको छ ।’
जिल्लामा गत वर्षदेखि आलु जोन कार्यक्रम सञ्चालनमा छ । यहाँ ब्लकका लागि ट्राउट माछा र तरकारी खेती गरी २५ स्थानमा पकेट क्षेत्र सञ्चालनमा छ । जोन कार्यक्रमका लागि छुट्टै कार्यालयको स्थापना भएको छ भने ब्लक र पकेट कार्यक्रम कृषि विकास कार्यालयले सञ्चालन गर्दै आएकामा चालू आवदेखि स्थानीय तहमार्फत सञ्चालन गरिँदैआएको छ । रासस




