Latest posts by अभियान संवाददाता (see all)
काठमाडौं । लामो समयको बहस र चर्चापछि सरकारले सातओटै प्रदेशका प्रमुखहरू र प्रदेश राजधानी तोकेको छ ।
प्रदेशको सबैभन्दा माथिल्लो संवैधानिक पदमा प्रदेश नं. १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल तोकिएका छन् । प्रदेश प्रमुखको नियुक्ति भने राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुखको कार्यावधि ५ वर्ष हुनेछ ।
मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले प्रदेश प्रमुख तोकेको हो । प्रदेश प्रमुख नतोकिँदा प्रदेशसभाको निर्वाचन परिणाम औपचारिक रूपमा घोषणा गर्न समस्या परिरहेको थियो । निर्वाचन आयोगले प्रदेश प्रमुख छिटो तोक्न सरकारसँग आग्रह गर्दै आएको थियो । यसले राष्ट्रियसभाको निर्वाचन गर्न पनि बाटो खुलेको छ । निर्वाचन आयोगले अब प्रदेश प्रमुखलाई प्रदेशको निर्वाचन परिणाम बुझाउनेछ ।

मन्त्रिपरिषद्को बुधवारकै बैठकले सात प्रदेशको अस्थायी राजधानी पनि तोकेको छ । तोकिएअनुसार १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रूपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी राजधानी रहेका छन् । स्थायी प्रदेश राजधानी भने सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतले लगाउने संवैधानिक व्यवस्था छ । अस्थायी राजधानी आ–आफ्नो गाउँलाई बनाउने विभिन्न प्रदेशमा आन्दोलन हुँदै आएको थियो ।




