Latest posts by कमल डाँगी (see all)
माघ ४, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ ११ गतेदेखि २२ गतेसम्म आयोजना गरिने प्रादेशिक महोत्सवमा पहिलो पटक विदेशी स्टलको पनि सहभागिता हुने भएको छ ।
नेपालगञ्जको सडक डिभिजन परिसरमा आयोजना गरिने उक्त महोत्सवमा भारत, चिन, बङ्गलादेश र पाकिस्तानका विभिन्न उत्पादनको सहभागिता रहने आयोजकले बताएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष एवम् स्टल व्यवस्थापन उपसमितिका संयोजक अब्दुल बाहिद मन्सुरीले भने, ‘पहिलो पटक नेपालगञ्जमा हुने प्रादेशिक महोत्सवमा विदेशी स्टलको सहभागिता हुन लागेको छ ।’ १६ स्टलहरु विदेशीको हुने जानकारी दिदै मन्सुरीले विभिन्न गार्मेन्ट उत्पादन, स्काई सप, प्राविधिक सामानहरुको स्टलहरु रहने बताए ।
नेपालगञ्जलाई आर्थिकरुपमा बाहिर चिनाउन र महोत्सवमा बढि सर्वसाधारणको सहभागिता गराउनका लागि विदेशी स्टलहरु राख्न लागिएको उनले बताए । बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनीस्थल निर्माणका लागि प्रादेशिक महोत्सव आयोजना गर्न लागिएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक वसन्त लामिछानेले जानकारी दिएका छन् । महोत्सवमा विदेशी सहित तीन सय स्टलहरु रहने उनले बताए ।




