केही समययता नेपाली महिला कामदार वैदेशिक रोजगारीमा जाने चलन बढ्दै आएको छ । १÷२ वर्षअघि कुल वैदेशिक रोजगारीमा जाने कामदारमध्ये २ प्रतिशत जतिमात्र महिला कामदार वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले ५ प्रतिशतभन्दा बढी महिला कामदार वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । तर, महिला कामदार प्रायःजसो हाउस मेड (घरेलु काम)मा जाने गरेका छन् । यस्तो काममा जाँदा उनीहरू बढी असुरक्षित हुने गर्दछन् । घरेलु कामको सट्टा सुपर मार्केट, इलोक्ट्रोनिक कम्पनीमा जनरल ओर्कर, होटलमा ‘कष्टुमर सर्भिस’जस्ता काममा जानु उपयुक्त मानिन्छ ।
नेपाली कामदार विशेषगरी साउदी अरब, कुवेत, मलेशिया, कतार, संयुक्त अरब इमिरेट्सलगायतका देशमा घरेलु काममा जाने गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । उनीहरू ती देशमा सेवाक्षेत्रको काममा भन्दा पनि घरेलु काममा बढी जाने गरेका छन् । तर, यस्तो काममा जाँदा महिला कामदारको हकअधिकार सुरक्षित हुँदैन । घरेलु काममा गएका महिला कामदारले नारकीय जीवन बिताउन बाध्य हुनुपर्दछ । ती देशका कानूनले पनि घरेलु कामदारलाई समेट्दैन । उनीहरूले नेपालस्थित आप्mना आफन्तसँग पनि सम्पर्कमा रहन पाउँदैनन् । यदि घरेलू काममा गएका महिला कामदारलाई समस्या परेमा उनीहरूको उद्धार गर्न एकदमै गाह्रो हुन्छ । त्यस्ता देशमा घरेलु काममा गएका कामदारलाई समस्या परेमा कुटनीतिक पहल गर्न पनि अप्ठ्यारो पर्नेछ । अप्ठ्यारो परेमा सम्बन्धित देशमा रहेको नेपाली दूतावासले पनि उद्धारको लागि सोझै पहल गर्न सक्दैन ।
पछिल्लो समय ती देशका रोजगारदाताले पनि नेपाली महिला कामदारलाई होटल, रेष्टुराँ, सुपर मार्केटजस्ता सेवा क्षेत्र, इलेक्ट्रोनिक कम्पनीलगायतका काममा माग गर्दै आएको छ । ती काममा घरेलु कामको भन्दा पनि बढी तलब पाइन्छ । काम गर्ने समय पनि निश्चित हुन्छ । सेवा क्षेत्र वा इलेक्ट्रोनिक काममा जानु एकदमै उपयुक्त मानिने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङ बताउँछन् । ‘त्यस्ता काममा जाँदा रोजगारदाताले महिला कामदारलाई सुरक्षित वास तथा सुविधाको व्यवस्था गरिदिएको हुन्छ,’ उनले भने, ‘महिला कामदारलाई सेवा क्षेत्रको रोजगारी उपयुक्त मान्निछ ।’ सुरक्षा तथा तलब दुवै हिसाबले घरेलु कामभन्दा अन्य क्षेत्रको रोजगारी राम्रो मानिने छ ।
काममा गएका महिला कामदारहरू सम्बन्धित रोजगारदाताको यौन शिकारसमेत बन्न वाध्य भएका छन् । घरेलु काममा गएका महिला कामदार वर्षेनि ६०÷७० जनाभन्दा बढी गर्भवती, सोही सङ्ख्यामा बच्चा बोकेर तथा केही मालिकको यौन शोषणबाट अशक्त भएर फर्कने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । त्यस्तै, घरेलू काममा गएका कामदारले रातदिन नभनी चौबीसै घण्टा काम गर्नुपर्ने घरेलु काममा गएर फर्केका कामदारहरू बताउँछन् । ‘घरेलु काममा जाँदा न्यूनतम पनि १७÷१८ घण्टा काम गर्नु पर्दछ,’ कुवेतको रोजगारीबाट फर्किएकी एक महीला कामदारले भनिन्, ‘साहूको घरमा कुनै भोज वा सामन्य पार्टी भएको बेलामा त चौबीसै घण्टा काम गर्नुपर्दछ ।’ १७÷१८ घण्टा काम गर्दा पनि तलब भने ८ घण्टाको मात्र दिने गरेको उनीहरू गुनासो गर्छन् ।