माघ ४, काठमाडौं (अस) । आर्थिक वर्ष २०७४/७५ को पहिलो पाँच महीनामा मुलुकको समग्र शोधनान्तर रु. ९ अर्ब २७ करोडले घाटामा गएको छ । आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा कमी आई चालू खाता घाटा रू. ४१ अर्ब ९५ करोड पुगेकोले समग्र शोधनान्तर घाटामा गएको हो । तथापि देशको वैदेशिक मुद्रा संचिती सुविधाजनक अवस्थामा रहेकाले वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आव २०७४/७५ को पाँच महीनामा निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक विन्दुगत आधारमा शून्य दशमलव ४ प्रतिशतले घटेको र आयात मूल्य सूचकाङ्कमा ४ दशमलव ९ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ५ दशमलव ३ प्रतिशतले ह्रास आएकोे छ । अघिल्लो वर्ष यस्तो सर्त १२ दशमलव ६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ८ प्रतिशतले ह्रास भई रू. २८५ अर्ब ४८ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले बढेको थियो । फलस्वरुप खुद ट्रान्सफर आय शून्य दशमलव २ प्रतिशतले घटी रु. ३ सय ३१ अर्बमा सीमित भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ दशमलव २ प्रतिशतले बढेको थियो ।
श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २ दशमलव ५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८ दशमलव ९ प्रतिशतले घटेको थियो ।
२०७४ असार मसान्तको रू. १०७९ अर्ब ५२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ मङ्सिर मसान्तमा शून्य दशमलव ६ प्रतिशतले वृद्धि भई रु. १०८५ अर्ब ७४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७४ असार मसान्तको रू. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ मङ्सिर मसान्तमा १ दशमलव २ प्रतिशतले वृद्धि भई रू. ९३८ अर्ब ७ करोड पुगेको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रू. १५२ अर्ब २६ करोड रहेकोमा २०७४ मङ्सिर मसान्तमा ३ प्रतिशतले कमी आई रू. १४७ अर्ब ६८ करोड पुगेको छ । २०७४ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ९ प्रतिशत रहेको छ ।




