दैलेख (अस) । दैलेखका स्थानीय तहका जनप्रतिनिधिले सडक निर्माणलाई मुख्य प्राथमिकतामा राखेका छन् । सबै ठाउँमा सडक सञ्जाल पुग्न नसकेको कारण उनीहरूले यसको निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएका हुन् । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिका, तीलागुफा नगरपालिका, रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका, सान्नित्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, पलाता गाउँपालिका, महावै गाउँपालिका र कालिका गाउँपालिकाहरूले सडकलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
गाउँपालिका र नगरपालिकाको सेवा केन्द्र र राष्ट्रिय सडक सञ्जालसँग जोडिन स्थानीय तहहरूले पर्यटकीय सडक कृषि सडकलगायत क्षेत्र पहिलो प्राथमिकतामा राखेका हुन् । निर्वाचनमा सडक, विद्युत्, कृषिलगायत क्षेत्रको विकास गर्ने नारा दिएका जनप्रतिनिधिहरूले सडलाई प्राथमिकतामा राखेका हुन् । ९ ओटा स्थानीय तह मध्ये खाँडाचक्र, तीलागुफा र रास्कोट नगरपालिकामा मात्र सडकले छोएको छ । बाँकी ६ ओटा स्थानीय गाउँपालिका र नगरमा सडक पुगेको छैन ।
जिल्लाको नरहरीनाथ गाउँपालिकाले २ वर्षभित्रै गाउँपालिका सबै वडामा सडक पुर्याउने लक्ष्यसहित आर्थिक वर्ष २०७४/७५ मा ६ करोड रकम विनियोजन गरेको छ । यो रकमबाट खुलालु–लालु–माल्कोट हुँदै रुप्सा र लालीघाट–कोटवाडा–कुमालगाउँ–रुप्सा सडक निर्माण अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘हामी गाउँपालिकामा सडक पु¥याउने लक्ष्यले अघि बढेका छौं,’ उनले भने । सडकलाई मुख्य प्राथमिकतामा राखेको रास्कोट नगरपालिकाले यसका लागि १ करोड ५० लाख विनियोजन गरेकोे छ ।


