रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा सडकको ग्राभेल तीव्ररूपमा अघि बढाइएको छ । ग्राभेल योजना १ देखि १७ वडामै सञ्चालन हुने नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । नगरसभाले सडक ग्राभेल योजनाका लागि चालू आर्थिक वर्षमा ७ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ ।
कतिपय वडामा ग्राभेलको काम सकिएको छ भने कतिपयमा सञ्चालन भइरहेको छ । वडा समितिले निर्धारण गरेको प्राथमिकताका आधारमा सडकहरू ग्राभेल भइरहेका छन् । नगरपालिकाले ग्राभेल योजनाको जिम्मेवारी वडा समितिलाई प्रदान गरेको छ । यस वर्ष झण्डै ४ सय ओटा साना–ठूला सडक ग्राभेल हुने नगरपालिकाले बताएको छ ।
प्रत्येक वडामा उपभोक्ता समिति गठन गरेर योजना अघि बढाइएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले बताइन् । प्राथमिकताका आधारमा कतिपय ग्राभेल गरिएका सडक रोलर लगाई च्यापिने नगरपालिकाले जानकारी दिएको छ । ‘सकेसम्म व्यवस्थित तरीकाले ग्राभेल गर्न लागिएको छ,’ नगर प्रमुख घिमिरेले भने ।
नगरपालिका क्षेत्रमा पर्ने तिनाउ नदी तथा सुखौरा खोलाको मिस्कटबाट सडक ग्राभेल गरिएको छ । नगरमा ग्राभेल गरिने बाहेकका सबैजसो सडकमा ग्रेटर लगाइएको छ भने कतिपयलाई कालोपत्र बनाउने तयारी भइरहेको छ । तिलोत्तमाका जनप्रतिनिधिहरूले स्थानीय चुनावमा नगरका सडक व्यवस्थित गर्ने विषयलाई आफ्नो प्रमुख नारा बनाएका थिए । नगर प्रमुख घिमिरेले पदवहालीको बेला नगरका सबै सडकमा व्यवस्थित ग्राभेल हाल्ने नीतिगत निर्णयमा हस्ताक्षर गरेका थिए ।
जीर्ण भएका सडकको मर्मतसम्भार गर्न ठूलो बजेट आवश्यक पर्ने भएकाले नगरपालिकाले यसमा सघाउन यस क्षेत्रबाट नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरूलाई आग्रह गरेको छ । प्रमुख घिमिरेले भने, ‘तत्कालै ममर्तसम्भार नगरी नहुने जीर्ण सडकको मर्मतसम्भार गर्न १२ करोड बजेट आवश्यक देखिएको छ ।’
जीर्ण सडकका कारण आवागमन प्रभावित भइरहँदा नगरपालिकाले माथिल्लो निकायमा मर्मत कार्यका लागि पहल गरिरहेको बताएको छ । यस्ता सडकलाई तत्काल फराकिलो गरी कालोपत्र गर्न नसकिए पनि एकसरो सिलकोट गरेर व्यवस्थित बनाइने योजना रहेको घिमिरेले बताए । ‘एकैपटक सबै जीर्ण सडक मर्मतसम्भार गर्न नगरपालिकाको स्रोतले भ्याउँदैन,’ उनले भने, ‘यसका लागि हामीले माथिल्लो निकायमा आग्रह गरेका छौं ।’


