दोलखा । दोलखामा सञ्चालित सबै निजी अस्पतालहरू मापदण्डविपरीत रहेको पाइएको छ । जिल्लामा ३ ओटा निजी अस्पताल, केही पोलिक्लिनिक, डेण्टल अस्पताल र मेडिकलहरू सञ्चालनमा छन् । तर, सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिकालगायतका मापदण्डहरू पालना नगरी अस्पताल सञ्चालन गरेको पाइएको हो ।
सदरमुकाम चरिकोटमा ५५ शैय्याको च्छोरोल्पा जनरल अस्पताल, १५ शैय्याको दोलखा सामुदायिक अस्पताल, दोलखा बजारमा ५५ शैय्याको अस्पताल बनाउने तयारीमा रहेको गौरीशङ्कर सामुदायिक, मैनापोखरीमा २५ शैय्याको बनाउने तयारीमा रहेको हिमालय कियर हेण्डले सञ्चालन गरेको सामुदायिक अस्पताल सरकारी मापदण्डविपरीत सञ्चालन भएका हुन् ।
अस्पतालको भवन पनि सरकारी निर्देशिकाअनुसार नभएको र भूकम्प प्रतिरोधीसमेत नरहेको अस्पताल सञ्चालकहरूले नै स्वीकार गरेका छन् । कागजमा सबैकुरा उल्लेख गरे पनि काम गर्न भने १/२ जना एमबीबीएस डाक्टर, केही स्टाफ नर्स, एचए, अनमीलगायत मात्र राखेको पाइएको छ ।
सरकारले लागू गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धि निर्देशिका २०७० को १९ को १ मा २५ शैय्यासम्मको अस्पताललाई एमबीबीएस ४ जना, बीएन नर्सिङ १ जना, स्टाफ नर्स ५ जना र विशेषज्ञ डाक्टर नभए पनि एमडीजीपी एक जना अनिवार्य गरेको छ । दोलखा सामुदायिक अस्पतालका सञ्चालक अमृत क्षत्री जिल्लामा सञ्चालित निजी अस्पतालहरू सरकारी मापदण्डअनुसार नरहेको स्वीकार गर्छन् । दोलखा सामुदायिक अस्पताललाई मापदण्डअनुसार सञ्चालन गर्न जनशक्ति र आवश्यक प्रविधि थप गरिरहेको उनी बताउँछन् ।
जिल्लामा सञ्चालित अस्पतालहरू मापदण्डअनुसार नरहेको र बिरामीले आवश्यक सेवा पाउन नसकेको गुनासो बढेपछि जिल्ला स्वास्थ्य कार्यालयमार्फत डाक्टरहरूसमेत संलग्न रहेको टोलीले निजी अस्पतालहरूको अनुगमन गरेको छ । अनुगमनको क्रममा धेरै अस्पताल मापदण्डविपरीत रहेको भनी प्रतिवेदन दिएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले बताए ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. मदन उपाध्यायले दोलखाका निजी अस्पतालहरू अहिलेसम्म नवीकरणका लागि या अन्य प्रयोजनका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा नआएको जानकारी दिए । सरकारी मापदण्डविपरीत रहेका अस्पतालहरूको नवीकरण या नयाँ अनुमति कुनै पनि हालतमा नदिइने उनले बताए ।




