Latest posts by अभियान संवाददाता (see all)
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्षका लागि सवा ४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरको आइतवार सम्पन्न प्रथम नगरसभामा नगरप्रमुख विजयकुमार सरावगीले वर्ष २०७४/०७५ का लागि ४ अर्ब २२ करोड २५ लाख रुपैयाँको अनुमानित आययव्यसहितको वार्षिक बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
अनुमानित बजेटमध्ये सरकारबाट सशर्त अनुदान ३ अर्व ४ करोड ६९ लाख र समानीकरण अनुदान ९० करोड ७ लाख रहेको नगर प्रमुख सरावगीले बताए । आन्तरिक आयबाट २१ करोड, राजस्व बाँडफाँटबाट ३ करोड, जनसहभागिताबाट २ करोड रहेको छ ।
बजेटमध्ये चालू खर्चमा १ अर्ब २३ करोड ५९ लाख खर्च हुने अनुमान छ । विकास खर्चका लागि २ अर्ब ९८ करोड ६६ लाख छुट्याइएको छ । कुल बजेटमध्ये चालूतर्फ २९ र पूँजीगतमा ७१ प्रतिशत छ ।
नगर प्रमुख सरावगीले यो बजेटमार्फत सामाजिक सावेशीकरण र जवाफदेहितालाई उच्च प्राथमिकतामा राखिएको बताए । ‘महानगरपालिकाले दीगो र व्यवस्थित शहरी पूर्वाधार विकासमा जोड दिँदै एकीकृत विकासको अवधारणालाई रणनीतिक रूपमा कार्यान्वयन गर्ने योजना बनाएको छ,’ उनले भने ।
सभाको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका थिए । नगरको समृद्धि र सापेक्ष विकासका लागि आन्तरिक स्रोत साधनको उपयोग र व्यवस्थापन अनिवार्य भएको यादवले बताए । उनले नगरको विकासमा योगदान दिन प्रत्येक नागरिकले कर तिर्ने आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।
सभामा महानगरकी उपप्रमुख शान्ति कार्की, प्रतिनिधिसभा सदस्यहरू प्रदीप यादव, विमल श्रीवास्तव, हरिनारायण रौनियारलगायतको सहभागिता थियो । सभाको उद्घाटन गर्न आएका यादवलाई लक्षित गरी वीरगञ्जमा कालो झण्डासहित प्रदर्शन गरिएको थियो । २ नम्बर प्रदेशको राजधानी वीरगञ्ज हुनुपर्ने माग गर्दै आन्दोलनमा रहेको सङ्घर्ष समितिले कालो झण्डासहित वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेको थियो । यादव भने अर्कै बाटो भएर कार्यक्रम स्थलमा पुगेका थिए । समितिले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरूलाई वीरगञ्ज प्रवेश निषेध गर्ने निर्णय गरेको थियो ।




