
प्रमुख गतिविधि
कम्पनीको पुस २६ गते सम्पन्न वार्षिक साधारणसभाले संस्थापक समूहबाट उदयकृष्ण उपाध्याय, रवीन्द्रसागर तुलाधर, महेशराज पन्त र रमेश शेखर वज्राचार्य तथा साधारण शेयरधनीको तर्फबाट निरज तुलाधर, विलसमान रञ्जितलाई सञ्चालकमा चयन गरेको छ । साथै, पुस ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले उपाध्यायलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- कम्पनीको चालू आर्थिक वर्ष २०७४/७५ को पहिलोे त्रैमासमा खुद मुनाफा ११ प्रतिशत कम भएर १ करोड ४७ लाखमा सीमित छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उसले १ करोड ६५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
- जगेडा १३४ प्रतिशत कम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५२ लाख रहेको जगेडा यो त्रैमासमा ६ करोड ९४ लाख रुपैयाँ ऋणात्मक छ ।
- बीमा कोषमा २२ प्रतिशत वृद्धि भएर १७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
- कुल बीमा शुल्क आर्जन रकम १७ प्रतिशत कम भएर १५ करोड ३० लाखमा आउँदा खुद बीमा शुल्क आम्दानी गत आवको पहिलो त्रैमासको भन्दा १० प्रतिशत कम भएर ९ करोड ८६ लाख छ ।
- यस त्रैमाससम्ममा कुल दाबी भुक्तानी रकम ३१ प्रतिशत वृद्धि भएर ६ करोड ४० लाख छ । त्यस्तै, खुद दाबी भुक्तानी ४ करोड ६३ लाख छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ३३ प्रतिशत धेरै हो ।
- कुल दाबी भुक्तानी सङ्ख्या ४ सय ९६ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या १ हजार ६ सय ३३ छ ।
- कम्पनीको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी (वार्षिक) १९ दशमलव ४७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ३७ दशमलव २३ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ५ सय ४४ दशमलव २० रुपैयाँ छ ।

निष्कर्ष :
समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम घट्नुका साथै खुद मुनाफामा पनि कमी आउनु र जगेडा कोष पनि ऋणात्मक हुनु कम्पनीको नकारात्मक पक्षका रूपमा छन् । साथै, उसले आफ्नो चुक्ता पूँजी १ अर्ब पुर्याउने क्रममा प्रस्तावित १० प्रतिशत बोनस र बोनसपछिको शतप्रतिशत हकप्रद बीमा समितिको निर्देशनबमोजिम हाललाई स्थगित गरेकाले उक्त न्यूनतम चुक्ता पूँजी १ अर्ब आव २०७४/७५ को अन्त्यसम्ममा हासिल गर्न चुनौती थपिएको छ ।
प्राविधिक विश्लेषण : ११३० टेवामा युनाइटेड इन्स्योरेन्स

प्रतिरोध २ : १३५० । प्रतिरोध १ : १२४० । अन्तिम कारोबार मूल्य : ११४३ । टेवा १ : ११२५ । टेवा २ : १११०
बजारको अवस्था
२ महीनायता युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य बढ्न सङ्घर्ष गर्दै आएको छ । कम्पनीको शेयरमूल्यले २ महीनाअघि १ हजार १ सय १६ को बिन्दुमा टेवा पाएको थियो र हालको अवस्थामा पनि बजार त्यस टेवा नजीक आएको छ । कम्पनीको शेयरमूल्यका लागि तत्काल टेवा १ हजार १ सय २५ रुपैयाँमा रहेको देखिन्छ । आइतवार उसकोे शेयरमूल्य २२ रुपैयाँ अर्थात् १ दशमलव ८९ प्रतिशत घटेर १ हजार १ सय ४३ रुपैयाँमा बन्द भएको छ भने ३ सय ७ कित्ता शेयर कारोबार भएको छ ।
मुभिङ एभरेज
५ दिने र २१ दिने मुभिङ एभरेजअनुसार यस इन्स्योरेन्स कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा छ ।
स्टोकास्टिक
स्टोकास्टिक सूचक प्रवृत्तिहीन अवस्थामा रहेको हुनाले खरीदकर्ता र विक्रेताको चाप बराबर रहेको बुझाएको छ ।
एडीएक्स
एडीएक्स सूचकले युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको सङ्केत गरेको छ ।
एटीआर
एटीआर सूचक घट्दो प्रवृत्तिमा रहेको हुनाले यस कम्पनीको शेयरमूल्यमा उतारचढाव घट्दै गएको बुझाएको छ ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकले यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाएको हुनाले बढ्ने स्पष्ट सङ्केत नगरेसम्म ‘पर्ख र हेर’को रणनीति अपनाउनुपर्ने देखिन्छ ।



