माघ ११, काठमाडौं (अस) । भृकुटीमण्डपमा बिहीवारदेखि शुरु भएको २४ औँ ‘सुविसु क्यान इन्फोटेक २०१८’मा यसवर्ष ब्रोडब्याण्ड इण्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई विशेष जोड दिइएको छ ।
ब्रोडब्याण्ड इण्टरनेट सेवामा विशेष सहुलियतसहित द्रुतगतिको इण्टरनेट प्रमुख आकर्षण बन्ने आयोजकको भनाई छ । साथै टेलिफोन तथा मोबाइल फोन कम्पनीहरूले आकर्षक अफर लिएर आएका छन् । ‘बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्रीहरू पनि विशेष सहुलियतका साथ मेलामा उपलब्ध हुनेछ’, क्यानका महासचिव रञ्जित पोदारले भने ।
महासचिव पोदारले स्वदेशी सफ्टवेयरहरुको प्रवर्द्धन गराउने उद्देश्यले नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधि प्रदर्शन गर्नका लागि छुट्टै पेभिलियन निर्माण गरिएको बताए ।
मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित कम्पनीका उत्पादनलाई प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यस किसिमका प्रदर्शनी र मेलाले नयाँ प्रविधिको बारेमा जानकारी लिन र नयाँ कम्पनीहरुका लागि बजार खोज्नका लागि अवसर प्रदान गर्ने बताए । साथै उनले अबको तीन वर्षभित्रमा नेपालका सबै सरकारी र सामुदायिक विद्यालय कम्प्युटर प्रविधिमा आधारित हुने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले सूचना प्रविधिको विकासमा गरिरहेको लगानी पर्याप्त नभएको भन्दै यसलाई वृद्धि गरिनुपर्ने बताए ।
माघ १६ गतेसम्म ६ दिन चल्ने उक्त मेलामा ४९ ओटा ठूला र हल बाहिर ५ ओटा ब्राण्डिङ प्रदर्शनी कक्षहरू हुनेछन् । त्यस्तै ट्रसमा १ सय ४४, ओपन स्पेसहरू १४ र फूड स्टलहरू १० गरी जम्मा २ सय २२ स्टलहरू रहेको आयोजकले जानकारी दिएको छ । मेलाको चार लाखले अवलोकन गर्ने आयोजको दाबी छ ।




