सुरुङ्गा (झापा) । सरकारले युवा तथा साना व्यवसायीलाई अनुदानमा कृषि कर्जा प्रदान गर्न थालेसँगै जिल्लाका किसान व्यावसायिक कृषिमा आकर्षित भएका छन् । कृषि विकास बैङ्क लिमिटेड शाखा कार्यालय बिर्तामोडले युवा तथा साना व्यवसायीलाई अनुदानमा रू. ३ करोड ८० लाख प्रदान गरेसँगै अर्जुनधारा, बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका २१ जना व्यवसायीले कृषि फार्म सञ्चालन गरेर मनग्गे आम्दानी गरिरहेका छन् ।
उनीहरूले व्यावसायिक रूपमा गाईपालन, माछापालन, च्याउ उत्पादन, च्याउको बीउ उत्पादन, फलफूल, तरकारीलगायत उत्पादन गरेर मनग्गे आम्दानी गरिरहेका बिर्तामोड शाखाका प्रबन्धक दीपक बराकोटीले बताए । ‘केही वर्ष अघिसम्म किसानलाई कृषि विकास बैङ्कले लगानी गर्दैन भन्ने मानसिकता थियो,’ उनले भने, ‘अहिले व्यावसायिक कृषिका कर्जा लिनेको सङ्ख्या ह्वात्तै बढेको छ ।’
शाखा कार्यालय बिर्तामोडले ८ सय ग्राहकका लागि लगानी गरेको कुल कर्जा रू. ६२ करोड ९ लाखमध्ये युवा तथा साना व्यवसायीलाई अनुदानमा रू. ३ करोड ८० लाख प्रदान गरिएको बराकोटीले जानकारी दिए । सो कर्जामा सरकारले किसानलाई ब्याजमा ५ प्रतिशत अनुदान दिने गरेको छ । युवा तथा साना व्यवसायीका लागि कृषि विकास बैङ्कले लगानी गर्न थालेपछि व्यावसायिक कर्जा लिनेको सङ्ख्यामा बढ्दै गएको छ । सो कर्जा लिन पूर्णरूपमा व्यावसायिक हुनुपर्ने, उदाहरणीय कृषक हुनुपर्ने, रोजगारीको अवसर सृजना गर्नुपर्ने, मासिक ब्याज बुझाउन सक्नेलगायत प्रावधान रहेको छ । रासस


