Latest posts by अभियान संवाददाता (see all)
माघ १२, काठमाडौं । गत साता नेप्सेमा झिनो सुधार देखिएको थियो । पहिलो तीन दिन घटेको बजार अन्तिम दुई दिन भने बढेको थियो । तर, परिसूचकमा सुधार देखिएपनि कारोबार रकम भने घटेको छ । शेयर बजारमा विक्रीकर्ताभन्दा खरीदकर्ताको चाप बढेकोले कारोबार रकम ओरालो लागेको विश्लेषण गरिएको छ । सस्तो मूल्यमा राम्रो कम्पनीको शेयर पाएपछि खरीद चाप बढेको विश्लेषकहरु बताउँछन् ।
सातामा कारोबार रकम ३० दशमलव २९ प्रतिशतले घटेर रू.२८ करोड २२ लाख बराबरको कारोबार भएको हो । त्यस्तै, कुल बजार पूँजीकरण रू.१ अर्ब २९ करोडले घटेर रू.१६ खर्ब ४१ अर्बमा सिमित रहेको छ ।
साताको मैनबत्ती चित्र हेर्दा अन्तिम दिनको छोटो पुच्छर भएको सेतो मारुबोजु आकृती बनाएको छ । सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ३८ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
त्यस्तै, साताको परिसूचक हेर्दा आगामी दिनमा बजार बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार ४ सय १५ रहेको छ भने दोस्रो विन्दु १ हजार ४ सय २५ रहेको छ । त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार ३ सय ९३ र दोस्रो टेवा १ हजार ३ सय ८१ मा पाउने देखिन्छ ।
गत साता नेप्से परिसूचक १ दशमलव ९९ अङ्क घटेको थियो । अघिल्लो साताको अन्तिम दिन १ हजार ४ सय ६ दशमलव ५२ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार ४ सय ४ दशमलव ५३ विन्दुमा पुगेको हो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक १ दशमलव ८६ अङ्कले बढेको हो ।
सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन शून्य दशमलव ३१ अङ्कले घटेर २ सय ९६ दशमलव ४१ अङ्क पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन शून्य दशमलव २६ अङ्कले बढेर १ सय १ दशमलव शून्य ५ अङ्कमा पुगेको हो । गत साता वित्त कम्पनी, लघुवित्त, बीमा र ‘अन्य’ समूह वाहेक सबै समूहहरुको परिसूचक बढेको थियो ।
व्यापार समूहको परिसूचक २२ दशमलव २२ अङ्क बढेको थियो । साथै, बैङ्किङ समूहको परिसूचक ३ दशमलव शून्य ९, विकास बैङ्कको शून्य दशमलव ७९, होटलको ५ दशमलव ३९, जलविद्युतको ३ दशमलव ४९ र उत्पादन तथा प्रशोधनको ७ दशमलव ६६ अङ्कले बढेको थियो । त्यस्तै, वित्त कम्पनी समूहको परिसूचक ४ दशमलव ९७, लघुवित्तको २ दशमलव ६९, बीमाको १ दशमलव १५ र ‘अन्य’ समूहको १ दशमलव शून्य ३ अङ्क घटेको थियो ।
गत साता १९ हजार १ सय ३३ कारोबारबाट १ सय ७७ कम्पनीहरुको ५० लाख ५९ हजार ९ सय ३० कित्ता शेयर खरीद विक्री भयो । जसबाट रू. १ अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरको रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा ५८ दशमलव ७४ प्रतिशत बढी हो । अघिल्लो साता १ सय ७० कम्पनीको १२ हजार ७ सय २८ कारोबारबाट २४ लाख ६१ हजार ६ सय कित्ता शेयर खरीद विक्री भएका थिए । जसवाट रू. १ अर्ब ९ करोड ५४ लाख ८५ हजार बराबरको कारोबार भएको थियो ।
सो साता कारोबार रकमको आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीले गत साता रू. १६ करोड ७ लाख ६० हजार बराबरको शेयर कारोबार गरेको थियो । कारोबार भएको शेयर सङ्ख्याको आधारमा ग्लोबल आइएमई बैङ्क अग्रस्थानमा रहेको थियो । यस वाणिज्य बैङ्कले ६ लाख १५ हजार कित्ता शेयर किनबेच गरेको थियो । त्यस्तै, कारोबार सङ्ख्याको आधारमा फष्र्ट माइक्रोफाइनान्स अग्र स्थानमा रहेको छ । यस कम्पनीको कारोबार सङ्ख्याको आधारमा ७ सय ७६ ओटा कारोबार भएको थियो ।




