Latest posts by अभियान संवाददाता (see all)
माघ १३, जनकपुरधाम । धनुषाको कमला पुलमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
काठमाडौंबाट ११ जना यात्रु लिएर झापा गइरहेको बा ९ च ३३१४ नम्बरको टाटासुमो गएराती करीब २ः३० बजे धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित पोर्ताहा भन्ने कमला पुलमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेव नगरपालिका–९ का अन्दाजी २९ वर्षीय नयाँराज जिमी, मोरङको विराटनगर नगरपालिका–४ की अन्दाजी ४५ वर्षीया सारदा रेग्मी दाहाल र मोरङकै लेटाङ–८ का ४० वर्षीय खेम कुमार राना मगर रहेका छन् ।
त्यस्तै, खोटाङको निर्मली डाँडाका २७ वर्षीय ज्ञान बहादुर चौहान, पाँचथरका अन्दाजी ३१ वर्षीया परमीता राई र ठेगाना नखुलेका अन्दाजी २५ वर्षीय प्रह्लाद न्यौपाने रहेको प्रहरीले बताएको छ ।
गम्भिर घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको र अन्य चार जना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।




