माघ १४, काठमाडौं (अस) । माथिल्लो त्रिशुली–१ आयोजनाबाट उत्पादन भएको विद्युतलाई नेपाल विद्युत प्राधिकरणले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा खरीद गर्ने भएको छ ।
नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत बो सुइक यी र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतवार सो आयोजनाको विद्युत खरीद विक्री सम्झौता (पीपीए)मा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्राधिकरणले आयोजनाको विद्युत सुक्खायाम ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा खरीद गर्नेछ । रन अफ रिभर आयोजनाका लागि मङ्सिर १६ बाट जेठ १५ सम्मको अवधिलाई सुख्खायाम र जेठ १६ देखि मङ्सिर १५ सम्मको अवधिलाई वर्षायाम कायम गरिएको छ । कम्पनीले परफरमेन्स ग्यारेन्टीबापत २१ करोड ६० लाख रुपैयाँ बुझाएपछि पीपीएमा हस्ताक्षर भएको बताइएको छ ।
प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला आयोजनासँग विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुक्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति अनुरुप यो पीपीए सम्झौता डलरमा भएको छ । पीपीए आइतवारका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको डलरको सटही मूल्यलाई स्थिर राख्ने गरी भएको छ ।
आयोजनामा कोरियन कम्पनीहरु, विश्व बैङ्क समूह अन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाली लगानीकर्ताको लगानी रहनेछ । ऊर्जा मन्त्रालय र कम्पनीबीच २०७३ पुस १४ गते आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ ।




